BIZMANDU
www.bizmandu.com

नेपालमै बनेको इलेक्ट्रिक स्कुटर ‘यात्री पी-२’ नाडा अटो शोमा सार्वजनिक गरिने

२०८३ असार २२

नेपालमै बनेको इलेक्ट्रिक स्कुटर ‘यात्री पी-२’ नाडा अटो शोमा सार्वजनिक गरिने
नेपालमै बनेको इलेक्ट्रिक स्कुटर ‘यात्री पी-२’ नाडा अटो शोमा सार्वजनिक गरिने


काठमाडौं। नेपालमै उत्पादन भएको विद्युतीय स्कुटर पहिलो पटक नाडा अटो शोमा सार्वजनिक हुने भएको छ। यससँगै यस वर्षको नाडा अटो शो नेपाली अटोमोबाइल उद्योगका लागि विशेष बन्ने देखिएको छ।

Tata
GBIME
Nepal Life

अहिलेसम्म नाडा अटो शोमा अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधनले मात्रै आकर्षण पाउँदै आएका थिए। तर, यसपटक भने ‘मेड इन नेपाल’ विद्युतीय स्कुटर ‘यात्री पी-२’ पनि प्रदर्शनीमा राखिने भएको हो।

स्कुटरलाई सिप्रदी यात्री प्रालिले नाडा अटो शोमार्फत सार्वजनिक गर्दै बुकिङसमेत खुला गर्ने तयारी गरेको छ। कम्पनीले यसका लागि प्रदर्शनीमा आफ्नो स्टल समेत सुनिश्चित गरिसकेको छ।

नेपालमै डिजाइन र उत्पादन गरिएको यो स्कुटर यात्री डिजाइन स्टुडियोले विकास गरेको हो। नेपाली सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको यो स्कुटर अहिले अन्तिम चरणको परीक्षणमा रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पी-२ स्कुटरलाई देशका विभिन्न भौगोलिक क्षेत्रमा चलाएर परीक्षण गरिएको छ। समथर तराईदेखि पहाडी र हिमाली क्षेत्रसम्म यसको क्षमता परीक्षण गरिएको कम्पनीको दाबी छ।

वालिङ, राम्दीघाट, भरतपुर, काठमाडौं, नुवाकोट, कुरी, हेटौंडा, जिरी, फापरबारी, मुलकोट र कटारी लगायतका क्षेत्रमा स्कुटर चलाएर परीक्षण सम्पन्न गरिएको छ।

कम्पनीका अनुसार कच्ची सडक, उकालो, ओरालो, अफरोड र कठिन भू-भागमा समेत स्कुटरको परीक्षण गरिएको थियो। हालसम्म पी-२ ले परीक्षणका क्रममा १० हजार किलोमिटरभन्दा बढी यात्रा पूरा गरिसकेको छ।

उक्त अवधिमा प्राप्त अनुभवका आधारमा स्कुटरमा आवश्यक प्राविधिक सुधार पनि गरिएको कम्पनीको भनाइ छ।

यो स्कुटर सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकलको संयुक्त लगानीमा विकास गरिएको हो। आगामी भदौ ९ गतेदेखि सुरु हुने नाडा अटो शोमा स्कुटर पहिलो पटक सर्वसाधारणमाझ प्रदर्शन गरिनेछ।

नाडामै यसको आधिकारिक बुकिङ पनि खुला गरिने कम्पनीले जनाएको छ।

उत्पादनका लागि कम्पनीले धादिङको गजुरीमा आधुनिक प्लान्ट निर्माण गरेको छ। प्लान्ट संचालनको अन्तिम तयारी भइरहेको कम्पनीले जनाएको छ।

नेपालमै निर्मित विद्युतीय दुईपाङ्ग्रे सवारीको व्यावसायिक उत्पादनले नयाँ चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।

नेपालमा विद्युतीय सवारीको माग तीव्र रूपमा बढिरहेका बेला स्वदेशमै डिजाइन र उत्पादन भएको स्कुटर बजारमा आउनु नेपाली अटोमोबाइल उद्योगका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले आयातमा निर्भर रहेको दुईपाङ्ग्रे बजारमा स्वदेशी उत्पादनको उपस्थितिलाई थप बलियो बनाउने विश्वास गरिएको छ।