BIZMANDU
www.bizmandu.com

एडीबी अध्यक्षले नेपालको यो तस्विर सेयर गर्दै भने- बालेन सरकारसँग केही सिक्न उत्सुक छु

२०८३ असार २२

एडीबी अध्यक्षले नेपालको यो तस्विर सेयर गर्दै भने- बालेन सरकारसँग केही सिक्न उत्सुक छु
एडीबी अध्यक्षले नेपालको यो तस्विर सेयर गर्दै भने- बालेन सरकारसँग केही सिक्न उत्सुक छु


काठमाडौं। पाँच घण्टाअघि एसियाली विकास बैंकका अध्यक्ष मासाता कान्डाले लिंक्डइनमा अर्थसचिव घनश्याम उपाध्यायसँगको भेटसहितका केही तस्विर सेयर गरे।

Tata
GBIME
Nepal Life

दुई दिने भ्रमणका लागि नेपाल आएका कान्डाले भनेका छन्, ‘काठमाडौं आइपुगेको यो समय नेपालका लागि निकै महत्वपूर्ण मोड हो।’

कान्डाले नेपालले पटकपटक आएका संकट र ठूला परिवर्तनलाई सहज ढंगले सामना गरेको समेत उल्लेख गरेका छन्।

‘नेपालको सबैभन्दा ठूलो विकास साझेदारका रुपमा ३.९ अर्ब अमेरिकी डलरको पोर्टफोलियोसहित नेपालको यही सहनशीलतालाई दिगो प्रगतिमा रुपान्तरण गर्न थप अवसर र दीर्घकालीन वृद्धिको बलियो आधार निर्माणमा सहयोग गर्न प्रतिवद्ध छौं,’ उनले भनेका छन्।

कान्डाले नयाँ सरकारले आफ्ना प्राथमिकता अघि बढाइरहेको समयमा केही सिक्न चाहेको समेत बताएका छन्।

‘नेपालको नयाँ सरकारले आफ्ना प्राथमिकता अघि बढाइरहेको समयमा, म नेपालका सरोकारवालाहरूको कुरा सुन्न, सिक्न र एडीबीले आगामी दिनमा कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा छलफल गर्न उत्सुक छु,’ उनले भनेका छन्, ‘विगत छ दशकदेखि कायम रहेको हाम्रो साझेदारीलाई सुदृढ बनाउँदै सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा राखेको छु।’

आइतबार राति आएका कान्डालाई अर्थसचिव उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। बालेन्द्र शाह प्रधानमन्त्री भएपछि बहुपक्षीय दाताका सबैभन्दा उच्च व्यक्ति नेपाल भ्रमणमा आएको यो पहिलोपटक हो।

त्यही भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेनसँग कान्डाको भेटघाट गराउन खोजेका छन्। अर्थ मन्त्रालय स्रोतका अनुसार सोमबार बिहानसम्म पनि बालेनले कान्डालाई भेट्ने निश्चित भइसकेको छैन।

‘ठूलो विकास साझेदारसँग भेटघाट गराउन सके त्यसको लाभ लिन सकिन्छ भनेर वान वन वान मिटिङका लागि समय खोजिएको रहेछ। त्यही भेटको समय मिलाउन सोमबार पनि प्रधानमन्त्रीको सचिवालयमा एक जना उच्च कर्मचारी आउनुभएको थियो,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बिजमाण्डूसँग भने।

उनका अनुसार समय मिले मंगलबार प्रधानमन्त्री बालेनसँग कान्डाको भेट हुनेछ। बालेनले प्रधानमन्त्री भए यता विदेशी उच्च अधिकारीसँग ‘वान वन वान’ भेटेका छैनन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरसँग बालेनले भेट्नै मानेनन्। बालेनले नभेट्ने संकेत पछि भारतीय विदेश सचिव बिक्रम मिस्रीले अन्तिम समयमा नेपाल भ्रमण नै स्थगित गरेका थिए।

एडीबी नेपाल कार्यालयका अनुसार कान्डाले केही परियोजनाको भ्रमण गर्नेछन्। उनले सोमबार नै अर्थमन्त्री डा. वाग्लेसँग भेटघाट गर्ने तय भएको छ।

एडीबीले गत वर्ष नेपालका लागि ५१९ वटा ऋण, अनुदान र प्राविधिक सहयोगका परियोजना स्वीकृत गरेको थियो।

एडीबीले नेपालको ऊर्जा क्षेत्रमा ठूलो लगानी गरेको छ। प्रसारण लाइन, सबस्टेसन, विद्युत वितरण आधुनिकीकरणमा एडीबीको लगानी केन्द्रित छ। खानेपानी र सहरी पूर्वाधार अन्तर्गत काठमाडौं उपत्यका र देशका विभिन्न सहरमा खानेपानी तथा ढल व्यवस्थापनमा एडीबीको सहयोग छ।

एडीबीले सन् २०२५-२९ का लागि नयाँ रणनीतिक साझेदारी गर्दै रोजगारी वृद्धि र सीपयुक्त मानव संशाधन, हरित अर्थतन्त्र, सुशासन, समावेशी विकास र दिगो वातावरण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणलाई प्राथमिकतामा राखेको छ।

जबकि २०२०-२४ को साझेदारीमा एडीबीले पूर्वाधार विकास, विकास र सेवा प्रवाहमा सबैको पहुँच तथा वातावरणको दिगोपनलाई मुख्य प्राथमिकता दिएको थियो।

एडीबीले २०२५-२९ को अवधिमा अनुदान र ऋण गरेर २ अर्ब ३० करोड अमेरिकी डलर नेपालमा लगानी गर्ने प्रारम्भिक खाका तयार पारेको छ। २०२०-२४ मा एडीबीले वार्षिक ५०० देखि ६०० मिलियन अमेरिकी डलर लगानी गरेको थियो।