काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको युवा संगठन सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ)ले नेपालको अटोमोटिभ उद्योगको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे अन्तर्क्रिया गरेको छ।
‘सीइओ फोरम : इन्जिनभन्दा पर, नेपालको अटोमोबाइल उद्योगको कथा’ विषयक अन्तर्क्रियामा नेपाली अर्थतन्त्रका संरचनागत चुनौती, औद्योगिक विकासका अवसर तथा अटोमोटिभ क्षेत्रको भविष्यबारे गहन छलफल गरिएको थियो।
युवा व्यावसायिक नेतृत्व, नीति विज्ञ र उद्योगीबीच भएको अन्तर्क्रियामा नेपालको कर्पोरेट तथा औद्योगिक विकासमा योगदान पुर्याउँदै आएका वरिष्ठ व्यावसायिक व्यक्तित्वहरूको सहभागिता थियो।
फोरममा सीजी होल्डिङ्ग्सका प्रबन्ध निर्देशक करण चौधरी (मारुती प्रतिनिधि), भोइथकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य (टोयोटा प्रतिनिधि) तथा सिमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) साहिल श्रेष्ठ (बीवाइडी प्रतिनिधि) प्यानलिस्टका रूपमा सहभागी थिए। कार्यक्रमको सहजीकरण त्रिवेणी ग्रुपका निर्देशक साकेत संघाईले गरेका थिए।

कार्यक्रमको सुरुवातमा सीएनआईवाइईएफकी नेटवर्क एण्ड कम्युनिकेसन सभापति साइनी खेतानले फोरमको उद्देश्य, आवश्यकता र अवधारणाबारे प्रकाश पारेकी थिइन्। त्यसपछि प्यानलिस्टहरूको परिचयसँगै मुख्य छलफल सुरु भएको थियो।
छलफलका क्रममा नेपालको अटोमोटिभ उद्योगले सामना गरिरहेका प्रमुख चुनौती, औद्योगिक विकासमा देखिएका कानुनी तथा नीतिगत अवरोध, प्रविधिको बढ्दो प्रयोग र बदलिँदो व्यावसायिक वातावरणबारे विस्तृत विमर्श भएको थियो। वक्ताहरूले नीतिगत स्थिरता, निजी क्षेत्रमैत्री वातावरण र दीर्घकालीन दृष्टिकोणविना उद्योग क्षेत्रले अपेक्षित गति लिन नसक्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा उत्पादन, प्रविधि, सेवा तथा विभिन्न व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूले प्यानलिस्टसँग प्रत्यक्ष संवाद गरेका थिए। सहभागीहरूले नीतिगत स्पष्टता, बजारका समसामयिक चुनौती, लगानीको वातावरण, विद्युतीय सवारीसाधनको बढ्दो प्रभाव तथा उद्योगको भविष्यबारे जिज्ञासा राखेका थिए।
प्यानलिस्टहरूले उद्योग र सरकारबीच प्रभावकारी सहकार्य, स्थिर नीति तथा नवप्रवर्तनमैत्री वातावरण निर्माण भए नेपालको अटोमोटिभ उद्योगले उल्लेखनीय प्रगति गर्न सक्ने विश्वास व्यक्त गरेका थिए।