काठमाडौं। सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ। सरुवामा अर्थ मन्त्रालय र मातहतका कार्यालयका चार जना परेका छन्।
मन्त्रिपरिषद्को असार १८ गते बसेको बैठकले गरेको निर्णय अनुसार भन्सार र आन्तरिक राजस्व विभाग नेतृत्वविहीन हुन पुगेका छन्। भन्सार विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेलाई लुम्बिनीका मुख्यमन्त्रीको कार्यालयमा पुर्याइएको छ।
अर्थ मन्त्रालयले केही दिनअघि मात्र महानिर्देशक श्यामप्रसाद भण्डारीलाई हटाएर पाण्डेलाई निमित्त महानिर्देशक बनाएको थियो। भण्डारीलाई राष्ट्रपतिको कार्यालय पठाइएको छ।
यस्तै आन्तरिक राजस्व विभागका निमित्त महानिर्देशक रमेश अर्याल पनि सरुवामा परेका छन्। उनलाई गण्डकी प्रदेशको मख्यमन्त्री कार्यालयमा पुर्याइएको छ।
विभागका यसअघिका महानिर्देशक मदन दहाल सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएपछि अर्याललाई दुई महिनाअघि विभागको निमित्त महानिर्देशक बनाइएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकबाट हटाएर अर्थ मन्त्रालयमा पेन्डिङमा राखिएका गजेन्द्र ठाकुरलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।
अर्थ मन्त्रालयमा प्रधानमन्त्री कार्यालयबाट दुई र युवा, श्रम तथा रोजगार मन्त्रालयबाट एक सहसचिव भित्रिएका छन्। प्रधानमन्त्री कार्यालयका भीष्मकुमार भुसाल र यमलाल भुसाल तथा युवा, श्रम तथा रोजगार मन्त्रालयका प्रेमप्रसाद आचार्यको अर्थ मन्त्रालयमा सरुवा भएको हो।
स्रोतका अनुसार भीष्मकुमार र यमलाललाई एक एक वटा विभागको नेतृत्व दिन अर्थ मन्त्रालयमा सरुवा गरिएको हो।