BIZMANDU
www.bizmandu.com

१० खेलाडीमा सीमित इंग्ल्यान्डको रोमाञ्चक जित, टुंगियो मेक्सिकोको विश्वकप यात्रा

२०८३ असार २२

१० खेलाडीमा सीमित इंग्ल्यान्डको रोमाञ्चक जित, टुंगियो मेक्सिकोको विश्वकप यात्रा
Photo: FIFA


काठमाडौं। इंग्ल्यान्डले रोमाञ्चक खेलमा मेक्सिकोलाई ३-२ ले हराउँदै फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

Tata
GBIME
Nepal Life

जारेल क्वान्साह रेड कार्ड पाएर मैदानबाट बाहिरिँदा १० खेलाडीमा सीमित इंग्ल्यान्डले अन्तिम समयसम्म दबाब झेल्दै महत्वपूर्ण जित निकालेको हो।

इंग्ल्यान्डलाई जित दिलाउन जुड बेलिङ्घमले २ गोल गरे। कप्तान ह्यारी केनले पेनाल्टीमार्फत अर्को गोल थपे। अब इंग्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि नर्वेसँग खेल्नेछ।

बेलिङ्घमले पहिलो हाफमा ९० सेकेन्डको अन्तरमा लगातार २ गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाएका थिए। तर, पहिलो हाफ सकिनुअघि मेक्सिकोका जुलियन किन्योनेसले कर्नरबाट आएको बललाई सदुपयोग गर्दै गोल फर्काएपछि खेल २-१ को अवस्थामा पुग्यो।

दोस्रो हाफमा इंग्ल्यान्डलाई ठूलो झट्का लाग्यो। जारेल क्वान्साहले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।

त्यसपछि एन्थोनी गोर्डनलाई पेनाल्टी एरियामा लडाइएपछि इंग्ल्यान्डले पेनाल्टी पायो। कप्तान केनले कुनै गल्ती नगरी गोल गर्दै टोलीको अग्रता ३-१ बनाए।

तर, खेल फेरि रोमाञ्चक बन्यो। भिडियो एसिस्टेन्स रेफ्री (भार) को समीक्षा पछि केनले ब्रायन गुटिएरेजमाथि फाउल गरेको निर्णय सुनाइयो। त्यसपछि प्राप्त पेनाल्टीमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोलाई ३-२ को अवस्थामा ल्याए।

बाँकी करिब आधा घण्टा मेक्सिकोले लगातार आक्रमण गरे पनि इंग्ल्यान्डको रक्षापंक्तिले दबाब झेल्दै अग्रता जोगायो। अन्ततः संघर्षपूर्ण जितसँगै थ्री लायन्सले विश्वकपको अन्तिम आठमा स्थान सुरक्षित गर्दै नर्वेसँगको बहुप्रतीक्षित भेट पक्का गरेको छ।