काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत इङ्ल्यान्ड र मेक्सिकोबीचको प्रि-क्वार्टरफाइनल खेल खराब मौसमका कारण एक घण्टा ढिला हुने भएको छ। मेक्सिको सिटीस्थित एस्टेका रंगशालामा आज पौने ६ बजे सुरु हुनुपर्ने खेल मौसमका कारण एक घण्टा ढिला सुरु हुने भएको हो। नेपालमा विश्वकपको आधिकारिक ब्रोडकास्टर हिमालयन स्पोर्ट्सले पौने ७ बजेबाट यो खेल सुरु हुने जनाएको छ।
दिनभरि परेको भारी वर्षा र रंगशालामाथि चट्याङ देखिएपछि खेल निर्धारित समयमा सुरु गर्न नसकिने भएको हो। स्थानीय सुरक्षा प्रोटोकलअनुसार रंगशालाबाट आठ माइलको दायराभित्र अन्तिम पटक चट्याङ परेको कम्तीमा ३० मिनेट नबितेसम्म खेल सञ्चालन गर्न पाइँदैन।
यसअघि प्रतिकूल मौसमको पूर्वानुमानलाई ध्यानमा राख्दै फिफाले खेललाई स्थानीय समयअनुसार दिउँसो १२ बजे सार्ने प्रस्ताव गरेको थियो। तर उक्त प्रस्तावप्रति इङ्ल्यान्ड फुटबल संघ र मेक्सिको फुटबल महासंघले असन्तुष्टि जनाएपछि फिफा आफ्नो निर्णयबाट पछि हटेको थियो।
दुवै टोलीका तयारी, समर्थकको यात्रा तथा यति ठूलो खेलको व्यवस्थापनमा पर्ने प्रभावबारे छलफल भएपछि खेलको मिति परिवर्तन नगरी केवल एक घण्टा ढिला सुरु गर्ने निर्णय गरिएको हो।
खराब मौसमका कारण यसअघि एस्टेका रंगशालामा उपस्थित दर्शकलाई सुरक्षित स्थानमा बस्न निर्देशन समेत जारी गरिएको छ
फिफाले विज्ञप्ति जारी गर्दै सबै खेलाडी, समर्थक र सम्बन्धित व्यक्तिको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको जनाएको छ। साथै, मौसमका कारण हुने खेल तालिका परिवर्तनमा फिफाले स्थानीय सुरक्षा निकायको निर्देशनअनुसार मात्रै निर्णय लिन सक्ने स्पष्ट पारेको छ।