काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका कर्मचारी हटाउन सुरु गरेकी छन्।
मन्त्री चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका नार्कका २ जना कर्मचारीलाई सेवाबाट हटाएकी हुन्।
कृषि अनुसन्धान निर्देशनालय, तरहरा, सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौं पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरमा कार्यरत वैज्ञानिक एस-१ नमिता भट्टराईलाई पदबाट हटाइएको हो।
सरकारले सुशासन र जनतामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेकाले सोहीअनुसार आफूले काम गरेको मन्त्री चौधरीले बताएकी छन्। दरबन्दी मात्र ओगटेर कार्यालयमा अनुपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारीविरुद्ध आवश्यक कारबाही गरिएको उनले बताइन्।
मन्त्री चौधरीले नार्कबाट सुरूवात गरिएको यो काम मन्त्रालयअन्तर्गत रहेका विभाग, केन्द्र लगायत निकायहरूमा पनि कार्यान्वयन गरिने बताएकी छन्।
कर्मचारी प्रशासन विनियमावली, २०६२ को विनियम बमोजिम उनीहरूलाई अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाइएको हो। परिषद्ले सम्बन्धित कर्मचारीहरूको घर ठेगानामा पत्राचार गर्नुका साथै राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको थियो।
तर, तोकिएको अवधिमा पनि सम्पर्कमा नआएपछि अनुपस्थित कर्मचारीलाई परिषद्को कार्यकारी समितिको निर्णयअनुसार सेवाबाट हटाइको छ।