BIZMANDU
www.bizmandu.com

बजारमा केरा पर्याप्त आए पनि भएन सस्तो, प्रतिस्पर्धा नहुनुको मूल्यभार उपभोक्तामाथि!

२०८३ असार २१

बजारमा केरा पर्याप्त आए पनि भएन सस्तो, प्रतिस्पर्धा नहुनुको मूल्यभार उपभोक्तामाथि!
बजारमा केरा पर्याप्त आए पनि भएन सस्तो, प्रतिस्पर्धा नहुनुको मूल्यभार उपभोक्तामाथि!


काठमाडौं। बजारमा केराको आपूर्ति पर्याप्त बढे पनि उपभोक्ताले भने यस वर्ष सिजनमै महँगो मूल्य तिर्नुपरेको छ। सामान्यतया सिजन सुरु भएसँगै केराको भाउ घट्ने भए पनि यसपालि भारतीय केराको आयात रोकिएपछि स्वदेशी उत्पादनले राम्रो मूल्य पाएकाले बजारमा मूल्य नघटेको हो।

Tata
GBIME
Nepal Life

व्यापारीहरूका अनुसार यतिबेला बजारमा आँपको सिजन भएकाले केराको माग अघिल्ला महिनाको तुलनामा कम छ। माग घट्दा पनि किसानबाटै उच्च मूल्यमा केरा आइरहेकाले खुद्रा बजारमा भाउ घट्ने अवस्था नरहेको उनीहरूको भनाइ छ।

नेपाल फलफूल व्यवसायी संघका अध्यक्ष अम्बर बानियाँले गत असोजदेखि भारतीय केराको आयात रोकिएपछि स्वदेशी किसानले राम्रो मूल्य पाउन थालेकाले अहिले पनि बजारमा मूल्य कायम रहेको बताए। उनका अनुसार अहिले मागभन्दा बढी केरा बजारमा भित्रिए पनि किसानले मूल्य नघटाएकाले उपभोक्ताले पनि महँगोमै खरिद गर्नुपरेको छ।

‘गत महिनासम्म बजारमा अभाव हुँदा उपभोक्ताले भाउ जति भए पनि खरिद गरिरहेका थिए, अहिले पनि भाउमा घटबढ छैन। बजारमा मागभन्दा बढी केरा भित्रिएको छ तर मूल्य घटेको छैन,’ उनले भने, ‘किसानले नै घटाएर नपठाएका कारण सस्तो नभएको हो।’

काठमाडौंको कुलेश्वरस्थित फलफूल बजारमा मालभोग केरा प्रतिगोटा १२ देखि १४ रुपैयाँमा बिक्री भइरहेको छ। गुणस्तरअनुसार खुद्रा बजारमा एक दर्जन केराको मूल्य २०० देखि २५० रुपैयाँसम्म पुगेको छ। जबकि अफसिजनमा यही केराको मूल्य प्रतिदर्जन ३५० रुपैयाँसम्म पुगेको थियो। अघिल्ला वर्षहरूमा भने यही समयमा प्रशस्त आपूर्ति भएपछि मूल्य उल्लेख्य रूपमा घट्ने गरेको थियो।

चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोका अनुसार किसानले अहिले हरियो (जी–नाइन) केरा प्रतिगोटा ७ रुपैयाँ र मालभोग केरा प्रतिगोटा १० रुपैयाँसम्म बिक्री गरिरहेका छन्। गत वर्ष किसानले हरियो केराको मूल्य प्रतिगोटा ५ रुपैयाँ र मालभोग ८ रुपैयाँसम्म मात्र पाएका थिए। भारतीय केरासँग प्रतिस्पर्धा गर्नुपर्दा स्वदेशी किसानले कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहे पनि यस वर्ष त्यो अवस्था नरहेको उनले बताए।

केरा व्यवसायी रुद्र पाठकका अनुसार पहिले ४०० देखि ५०० रुपैयाँमा पाइने एउटा कार्टुन केरा अहिले ८०० देखि १ हजार रुपैयाँसम्म पर्न थालेको छ। ढुवानी खर्च बढ्नुका साथै किसानबाटै उच्च मूल्यमा केरा खरिद गर्नुपरेकाले खुद्रा मूल्य पनि बढेको उनले बताए।

‘पहिले १०० रुपैयाँमा डेढ दर्जनसम्म पाइने केरा अहिले प्रतिदर्जन २५० रुपैयाँभन्दा बढी पर्न थालेपछि बिक्री घटेको छ,’ उनी भन्छन्, ‘अहिले बजारमा केराको अभाव नभई माग नै कम भएको हो।’

चितवनबाट दैनिक २५ देखि ३० बोलेरो गाडी केरा देशका विभिन्न बजारमा पठाइँदै आएको छ। यस वर्ष उत्पादन पनि गत वर्षभन्दा राम्रो रहेको र चितवनमा मात्रै ७ लाखभन्दा बढी नयाँ केराका बिरुवा थपिएकाले आगामी वर्ष उत्पादन अझ बढ्ने अपेक्षा गरिएको छ।

संघका अनुसार चितवनमा वार्षिक करिब ७० हजार मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ, जसबाट साढे २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ। यस वर्ष किसानले राम्रो मूल्य पाएकाले उत्पादन र कारोबार दुवै बढ्ने अपेक्षा गरिए पनि बजार भाउ नघट्दा उपभोक्ताकै बजेटमा भार परेको छ।