BIZMANDU
www.bizmandu.com

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, व्यावसायिक सहकार्य प्राथमिकतामा राख्ने

२०८३ असार २१

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, व्यावसायिक सहकार्य प्राथमिकतामा राख्ने
एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, व्यावसायिक सहकार्य प्राथमिकतामा राख्ने


काठमाडौं। नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभाले अनुभव श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिले युवा उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तन, नेतृत्व विकास तथा व्यवसायिक सहकार्य विस्तारलाई आगामी कार्यकालको प्राथमिकतामा राख्ने जनाएको छ।

Tata
GBIME
Nepal Life

पदभार ग्रहणपछि अध्यक्ष श्रेष्ठले विश्वास, सहकार्य, निरन्तर सिकाइ र साझा उद्देश्यमा आधारित सशक्त एनवाईईएफ काठमाडौं निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। एनवाईईएफलाई केवल व्यवसायिक सञ्जालमा सीमित नराखी युवा उद्यमीहरूले मार्गदर्शन, सहकार्य, अवसर र अपनत्व अनुभूति गर्ने साझा मञ्चका रूपमा विकास गर्ने उनको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले नेपालको आर्थिक रूपान्तरणका लागि युवा उद्यमीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्यमशीलता र रोजगारी सिर्जनामा युवालाई प्रोत्साहन गर्न नीतिगत सहकार्य आवश्यक रहेको बताए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाली युवाको सिर्जनशीलता, प्रविधिमैत्री सोच र जोखिम उठाउने क्षमताले मुलुकको आर्थिक भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने धारणा राखे। उनले युवा उद्यमशीलता, स्टार्टअप प्रवर्द्धन, वित्तीय पहुँच र व्यावसायिक सञ्जाल विस्तारका क्षेत्रमा एनवाईईएफसँग सहकार्य थप सुदृढ बनाइने बताए।

साधारण सभामा उद्यमशीलता विकास, स्टार्टअप प्रवर्द्धन, नवप्रवर्तन, नेतृत्व विकास तथा निजी क्षेत्र र नीति निर्माताबीचको सहकार्य प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।

नयाँ कार्य समितिमा अप्पा शेर्पा निवर्तमान अध्यक्ष, सन्दीप शर्मा प्रथम उपाध्यक्ष, सौरभ श्रेष्ठ द्वितीय उपाध्यक्ष भएका छन्। कार्यसमिति सदस्यमा सायन प्रजापति, सन्तोष पाण्डे,  आश्लेषा कार्की, छेची शेर्पा, सुरक्षा अधिकारी, इच्छा मल्ल, अमृताञ्जली शाक्य, निखिल अग्रवाल, श्रेया गिरी, श्यारोन अधिकारी र प्रियान्शी जालान चयन भएका छन्।