BIZMANDU
www.bizmandu.com

घानालाई हराएर विश्वकपको अन्तिम १६ मा पुग्यो कोलम्बिया, एरियासको गोल बन्यो निर्णायक

२०८३ असार २०

घानालाई हराएर विश्वकपको अन्तिम १६ मा पुग्यो कोलम्बिया,  एरियासको गोल बन्यो निर्णायक
Colombia's Johan Mojica (17) heads for the ball with Ghana's Alidu Seidu (2) during the World Cup round of 32 soccer match between Colombia and Ghana in Kansas City, Mo., Friday, July 3, 2026. (AP Photo/John Locher)


काठमाडौ। कोलम्बिया फिफा विश्वकपको प्रि-क्वाटरफाइनलमा पुगेको छ। विश्वकपको अन्तिम ३२ को आज सम्पन्न अन्तिम खेलमा घानालाई १-० गोलले हराउँदै कोलम्बियाले प्रि-क्वाटरफाइनलमा स्थान पक्का गरेको हो। अब उसले क्वाटरफाइनल पुग्नका लागि स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

Tata
GBIME
Nepal Life

कान्सास सिटी स्टेडियममा खेलको एक मात्र गोल १४औँ मिनेटमा झोन एरियासले गरे। लुइस सुआरेजको क्रसलाई लुइस डियाजले हेडमार्फत दोस्रो बारतर्फ फर्काइदिएपछि एरियासले पहिलो टचमै जाली चुमाएका थिए।

स्कोरलाइन साँघुरो देखिए पनि खेलमा कोलम्बियाको वर्चस्व स्पष्ट थियो। नेस्टर लोरेन्जोको टोलीले सुरुदेखि बल नियन्त्रण आफ्नो पक्षमा राख्यो र लगातार अवसर सिर्जना गरिरह्यो। डियाज, गुस्ताभो पुर्टा र जोहान मोहिकाले गोलका राम्रा अवसर पाए पनि घानाका गोलरक्षक लरेन्स अटी जिगीले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई ठूलो अन्तरको हारबाट जोगाए।

विशेषगरी दोस्रो हाफमा डियाज निकै सक्रिय देखिए। उनले गरेको एक गोल अफसाइडका कारण रद्द भयो भने अर्को पटक एक्लै गोलकिपरसँग आमनेसामने हुँदा पनि अटी जिगीले शानदार बचाउ गरे।

घानाले भने आक्रमणमा निकै कमजोर प्रदर्शन गर्‍यो। टोलीले खेलभर गोलतर्फ प्रभावकारी प्रहार नै गर्न सकेन।

जारी विश्वकपको बलियो डिफेन्स भएको टोलीमध्येमा हेरिएको कोलम्बियाले घानाविरुद्ध पनि त्यो लयलाई देखायो। यो विश्वकपमा कोलम्बियाले अहिलेसम्म एक गोल मात्र खाएको छ।