BIZMANDU
www.bizmandu.com

केप भर्डेलाई निक्कै मुस्किलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा, अर्को प्रतिस्पर्धी इजिप्ट

२०८३ असार २०

केप भर्डेलाई निक्कै मुस्किलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा, अर्को प्रतिस्पर्धी इजिप्ट
Argentina's Lionel Messi (10) controls the ball while defended by Cape Verde's Deroy Duarte (14) during the World Cup round of 32 soccer match between Argentina and Cape Verde in Miami Gardens, Fla., Friday, July 3, 2026. (AP Photo/Chris Carlson)


काठमाडौं। केप भर्डेलाई हराउँदै अर्जेन्टिना विश्वकपको प्रि-क्वाटरफाइनलमा पुगेको छ। फिफा विश्वकप अन्तर्गत आज सम्पन्न अन्तिम ३२ को खेलमा केप भर्डेमाथि ३-२ गोलको निकै मुस्किल जित निकाल्दै साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा पुगेको हो।

Tata
GBIME
Nepal Life

मियामीमा भएको अत्यन्तै रोमाञ्चक र नाटकीय अन्तिम ३२ को खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेले साविक विजेताविरुद्ध दुई पटकसम्म पुनरागमन गर्दै अन्तिम मिनेटसम्म चुनौती दिएको थियो।

खेलको २९औं मिनेटमा कप्तान लियोनल मेस्सीले लिसान्द्रो मार्टिनेजको लामो पास नियन्त्रण गर्दै आकर्षक फिनिसमार्फत गोल गरेपछि अर्जेन्टिनाले अग्रता लिएको थियो। पहिलो हाफ १–० ले अघि रहेको अर्जेन्टिनालाई दोस्रो हाफमा केप भर्डेले कडा चुनौती दियो।

५९औं मिनेटमा रायन मेन्डेसको पासमा डेरोय डुआर्टेले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि निर्धारित ९० मिनेटमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

अतिरिक्त समय सुरु भएको दुई मिनेटमै लिसान्द्रो मार्टिनेजले एलेक्सिस म्याक एलिस्टरको हेडरबाट आएको बललाई शक्तिशाली प्रहार गर्दै अर्जेन्टिनालाई फेरि अग्रता दिलाए।

तर, केप भर्डेले पुनः हार मानेन। १०३औं मिनेटमा सिड्नी काब्रालले बायाँतर्फबाट उत्कृष्ट प्रहार गर्दै खेललाई २–२ गोलको बराबरीमा पुर्‍याए। उनको गोल प्रतियोगिताकै उत्कृष्ट गोलमध्ये एक मानिने खालको थियो।

खेल पेनाल्टी सुटआउटतर्फ उन्मुख भइरहेका बेला १११औं मिनेटमा मेस्सीको कर्नरमा क्रिस्टियन रोमेरोको हेडर डिने बोर्जेसलाई लागेर दिशान्तर हुँदा आत्मघाती गोल हुन पुग्यो। त्यही गोल निर्णायक बन्यो र अर्जेन्टिनाले ३–२ को जित निकाल्दै प्रतियोगितामा आफ्नो यात्रा कायम राख्यो।

खेलभर केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै आठ महत्वपूर्ण बचाउ गरेका थिए। यद्यपि अन्तिम समयमा भएको आत्मघाती गोलका कारण विश्वकपमा ऐतिहासिक यात्रा गरिरहेको केप भर्डे बाहिरिन पुग्यो।

विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेले समूह चरणमा स्पेन, साउदी अरेबिया र उरुग्वेसँग बराबरी खेल्दै अन्तिम ३२ मा स्थान बनाएको थियो। अर्जेन्टिनाविरुद्ध पनि उसले अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गर्दै साविक विजेतालाई अतिरिक्त समयसम्म धकेलेर कडा चुनौती दिएको थियो।

अब अर्जेन्टिनाले क्वार्टरफाइनल प्रवेशका लागि इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ। इजिप्टले यसअघि अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा हराएर अन्तिम १६ मा स्थान बनाएको थियो।