BIZMANDU
www.bizmandu.com

नारायणगढ–बुटवल सडक : सकियो पूर्वी खण्ड कालोपत्रे, ६५ किमिमा प्रगति ९२.३८ प्रतिशत

२०८३ असार २०

नारायणगढ–बुटवल सडक : सकियो पूर्वी खण्ड कालोपत्रे, ६५ किमिमा प्रगति ९२.३८ प्रतिशत
तस्बिर : रासस।


मध्यविन्दु (नवलपरासी)। नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको कालोपत्रे तथा ढलान सडक निर्माणको काम पुरा भएको छ।

Tata
GBIME
Nepal Life

आयोजनाको पूर्वी खण्ड अन्तर्गत पेभमेन्ट तर्फको बाइन्डर कोर्स, वेयरिङ कोर्स (अन्तिम कालोपत्रे) र कङ्क्रिट पेभमेन्ट (ढलान सडक) को सबै निर्माण शुक्रबारदेखि सम्पन्न भएको हो। नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इञ्जिनियर शिव खनालले यस्तो जानकारी दिए।

‘मुख्य सडकको कालोपत्रे र ढलान सडक निर्माण सम्पन्न भइसकेको छ। अब सडक सुरक्षा अन्तर्गतका कामहरु मात्र बाँकी छन्,’ उनले भने, ‘यो सँगै सडक आयोजनाको पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ।’ उनका अनुसार निर्माण सम्पन्न भइसकेका अधिकांश खण्डमा सवारी आवागमन सहज भइसकेको छ भने बाँकी रहेका सहायक संरचनाको काम पनि अन्तिम चरणमा पुगेको छ।

एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माणाधीन ११३ किलोमिटर लामो नारायणगढ–बुटवल सडक आयोजना दुई खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ। गैंडाकोटदेखि दाउन्नेसम्म करिब ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म करिब ४८ किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छन्।

सन् २०१९ मा चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता भएको आयोजना कोभिड–१९ महामारी, वन क्षेत्रको रूख कटानमा ढिलाइ, विद्युत् तथा खानेपानीका संरचना स्थानान्तरण, नदीजन्य निर्माण सामग्रीको आपूर्ति समस्या तथा अन्य प्राविधिक कारणले निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन।

पछिल्ला महिनामा निर्माण कार्यले उल्लेखनीय गति लिएसँगै पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे सम्पन्न भएको हो। यसअघि अधिकांश पुल, कल्भर्ट, नाला, सेवा सडक र अन्य पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन्। सूचना अधिकारी खनालले बाँकी रहेका सडक सुरक्षा तथा सौन्दर्यीकरणसँग सम्बन्धित काम पनि क्रमशः सम्पन्न गरी आयोजना पूर्ण रूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको बताए।

देशकै अत्यधिक सवारी चाप हुने पूर्व–पश्चिम राजमार्गअन्तर्गतको यो सडक विस्तार आयोजना सम्पन्न भएपछि नारायणगढ–बुटवल यात्रा थप सुरक्षित र सहज हुनेछ। रासस