काठमाडौं। इजिप्टले फिफा विश्वकपको नकआउट चरणमा पहिलो पटक जित निकाल्दै इतिहास रचेको छ। डलास स्टेडियममा सम्पन्न राउण्ड अफ ३२ को रोमाञ्चक खेलमा अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको हो।
यता अस्ट्रेलिया पराजित भएसँगै एसियन फुटबल कन्फिडरेसन (एएफसीका) अन्तर्गतका देशको विश्वकपमा चुनौती सकिएको छ। एएफसी अन्तर्गतका जापान र अस्ट्रेलियामात्र नकआउट चरणमा पुग्दा उज्वेकिस्तान, इरान, इराक, दक्षिण कोरिया, साउदी अरब, जोर्डन र कतार समूहचरणबाटै बाहिरिएका थिए। अस्ट्रेलिया आज बाहिरिँदा जापान ब्राजिलसँग पराजित हुँदै बाहिरिसकेको छ।
गएरातिको रोचक खेलको निर्धारित ९० मिनेट र त्यसपछिको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। इजिप्टका लागि महमुद साबेर, रामी राबिया, मोहम्मद सलाह र होसाम अब्देलमागुइदले सबै पेनाल्टी सफल बनाए। अष्ट्रेलियाका लागि ज्याक्सन इर्भिन र आवर माबिलले गोल गरे पनि ह्यारी साउटरको पहिलो प्रहार बारमाथिबाट बाहिरियो भने १८ वर्षीय लुकास हेरिङ्टनको प्रहार पनि क्रसबारमा लागेपछि इजिप्ट विजयी बन्यो।
यो जितसँगै इजिप्टले विश्वकप इतिहासमा पहिलो पटक नकआउट चरण पार गरेको छ। अब उसले अन्तिम १६ मा साविक विजेता अर्जेन्टिना वा केप भर्डेमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।
इजिप्टका लागि इमाम आशुरले १३औँ मिनेटमा करिम हाफेजको उत्कृष्ट क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको सुरुआतमै अष्ट्रेलियाका क्रिस्टियन भोल्पाटोको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्किएको थियो।
दोस्रो हाफ सुरु हुनेबित्तिकै ओमार मार्मुशले इजिप्टको अग्रता दोब्बर बनाउने सुनौलो अवसर गुमाए। त्यसको मूल्य टोलीले ५५औँ मिनेटमा चुकायो। मोहम्मद हानीले आफ्नै पोस्टमा हेड गर्दै आत्मघाती गोल गर्न पुगे। विश्वकपमा हानीको यो दोस्रो आत्मघाती गोल थियो।
त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन। अतिरिक्त समयमा मोहम्मद सलाहले नजिकबाट उत्कृष्ट अवसर गुमाए भने अष्ट्रेलियाका गोलरक्षक प्याट्रिक बीचले रामी राबियाको हेडरलाई शानदार बचाउ गर्दै खेललाई पेनाल्टीसम्म पुर्याए।
खेलपछि कप्तान मोहम्मद सलाह भावुक बने।
‘यो इतिहास हो। खेलअघि मैले टोलीका खेलाडीलाई यही सबैभन्दा ठूलो मञ्च भएको र दबाब नलिन आग्रह गरेको थिएँ। हामीले इतिहास रच्न सफल भयौं, त्यसमा निकै खुसी छु,’ सलाहले भने।
इजिप्टको यो जितसँगै यस विश्वकपमा पहिलो पटक दुई अफ्रिकी टोली नकआउट चरण जित्दै अन्तिम १६ मा पुगेका छन्। यसअघि मोरक्कोले पनि अन्तिम १६ मा स्थान बनाइसकेको छ।
यता अष्ट्रेलियाका लागि भने यो विश्वकप इतिहासमा नकआउट चरणको लगातार तेस्रो हार रह्यो। एएफसी अन्तर्गत सन् २००२ मा दक्षिण कोरियापछि कुनै पनि एसियाली टोलीले विश्वकपको नकआउट चरणमा सफलता दोहोर्याउन सकेका छैनन्।