BIZMANDU
www.bizmandu.com

विमानस्थलमा घोषणा नगरी लुकाएर लैजान खोज्दा गहना जफत, यस्तो छ कानुनी व्यवस्था

२०८३ असार १९

विमानस्थलमा घोषणा नगरी लुकाएर लैजान खोज्दा गहना जफत, यस्तो छ कानुनी व्यवस्था
विमानस्थलमा घोषणा नगरी लुकाएर लैजान खोज्दा गहना जफत, यस्तो छ कानुनी व्यवस्था


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लैजान लागिएको सुन र चाँदीका गहनासहित बुधबार दुईजना पक्राउ परे।

Tata
GBIME
Nepal Life

एपेक्स लजिस्टिक प्रालिमार्फत बाहिर पठाउन लागिएका सुन तथा चाँदीकाजस्तै देखिने गरगहना फेला परेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले थप जाँच गरेको थियो।

त्यसक्रममा जुत्ता, पाइन्ट, सारीलगायत कपडाको ‘डिक्लेरेसन’मा गहनासमेत भेटिए। त्यसपछि विमानस्थल सुरक्षा कार्यालयले एपेक्स लजिस्टिकका यज्ञराज सुवेदी र युनिक कार्गोका रामप्रसाद दाहाललाई नियन्त्रणमा लियो।

विमानस्थल भन्सार कार्यालयका अनुसार गहना भएको डिक्लेरेसन नगरेको र तोकिएकोभन्दा बढी परिमाणको गहना भएकाले उनीहरूलाई थप अनुसन्धानका लागि विमानस्थल सुरक्षा कार्यालयलाई जिम्मा लगाइएको हो।

विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले भने, ‘ल्याउने/लैजाने सामग्रीहरू डिक्लेरेसन गर्नुपर्छ। त्यस्तो नगरेको पाइए वा कुनै शंका लागे कार्यालयले नियन्त्रणमा लिएर थप सोधपुछ, जाँच गर्न सक्छ।’

नेपाली नागरिक विदेश जाँदा नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका सामानहरूमा भन्सार महसुल लाग्दैन। त्यस्तै आफूले प्रयोग गर्ने लुगाफाटा, व्यक्तिगत ग्याजेट जस्तै- मोबाइल, ल्यापटप, क्यामेराहरू पनि लिन पाइन्छ।

त्यस्तै ल्याउन पाइनेजस्तै लैजान पनि पुरुषले २५ र महिलाले ५० ग्रामसम्मका गहना महसुल छुटमा पाइने व्यवस्था छ। यसमा थप ५० ग्रामसम्म भए तोकिएको महसुलमा थप ३ प्रतिशत तिरेर लैजान वा ल्याउन पाइने व्यवस्था छ। त्योभन्दा बढी जफत हुने भन्सारको निर्देशिकामा उल्लेख छ।

तर आफूले प्रयोग गरिरहेको वा विवाह आदिमा जानका लागि तोकिएको सीमाभन्दा बढी पनि लिन पाइन्छ। त्यसका लागि विमानस्थलको भन्सारमा अनिवार्य रूपमा घोषणा गरेर अनुमति पत्र लिनुपर्छ, किनेको बिल पनि चाहिन्छ।

विमानस्थल कार्यालयका अनुसार बुधबार कार्गोबाट पठाउन लागिएका गहनामा यी कुनै पनि प्रक्रिया पूरा गरिएको थिएन।

प्रमुख भन्सार अधिकृत विश्वकर्माले भने, ‘जाँदा घोषणा गरेर गएपछि नेपाल फर्कँदा कुनै झन्झट वा भन्सार महसुल नतिरी ल्याउन पाइन्छ। भन्सारमा घोषणा नगरी वस्तु लैजाने वा ल्याउने प्रयास गरे जफत गरी कारबाही गर्न सक्ने कानुनी व्यवस्था छ।’

बुधबार भने कार्गोमार्फत ११ प्रकारका थ्रेसहोल्डभन्दा बढी गहना पठाउन लागिएको विमानस्थल कार्यालयले जनाएको छ। जसमा नौगेडी सानो ठूलो गरेर ८० थान, चन्द्रमा १६ थान, २० वटा जन्तर, मंगलसूत्र १८ थानलगायत गहना छन्। त्यसमा थप कलात्मक चाँदीका गहना र सजावटका सामग्रीसमेत छन्।