विश्वकपमा जर्मनीको निराशाजनक प्रदर्शनपछि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जुलियन नागेल्समान पदबाट बाहिरिने भएका छन्।
जर्मन पत्रिका बिल्डले शुक्रबार प्रकाशित गरेको समाचारमा ३८ वर्षीय नागेल्समानले जर्मन फुटबल संघ (डीएफबी)का उच्च अधिकारीहरूसँग भएको छलफलपछि पद छाड्न सहमति जनाएको उल्लेख गरिएको छ।
समाचारअनुसार फ्र्याङ्कफर्टस्थित डीएफबी मुख्यालयमा बिहीबार करिब ३ घण्टा लामो गोप्य बैठक बसेको थियो। सोही बैठकपछि नागेल्समानले जिम्मेवारीबाट अलग हुने निर्णय लिएको दाबी गरिएको छ।
यद्यपि, डीएफबीले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
बिल्डका अनुसार पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै जर्मनी अन्तिम ३२ बाट बाहिरिएपछि नागेल्समानलाई आफ्नो भविष्यबारे पुनर्विचार गर्न आग्रह गरिएको थियो। उनले टोलीको असफलताबारे आफ्नो धारणा डीएफबी नेतृत्वसमक्ष राखेपछि स्वेच्छिक रूपमा पद छाड्ने विकल्प रोजेको बताइएको छ।
पदत्यागपछि उनले करिब ७० लाख युरो क्षतिपूर्ति प्राप्त गर्ने अनुमान गरिएको छ।
सोमबार अमेरिकाको बोस्टनमा भएको खेलमा पाराग्वेसँग पराजित भएपछि जर्मनी लगातार तेस्रो पटक विश्वकपमा अपेक्षाअनुसार प्रदर्शन गर्न असफल भएको हो। यसअघि पनि टोली सन् २०१८ र २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो।
जर्मनीले सन् २०१४ मा चौथो पटक विश्वकप उपाधि जितेको थियो।
नागेल्समान सन् २०२३ मा जर्मनीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनी पछिल्ला ४ दशकयता विश्वकपको नकआउट चरणमा टोली सम्हाल्ने सबैभन्दा कम उमेरका प्रशिक्षक पनि हुन्।
विश्वकपबाट बाहिरिएपछि उनले तत्काल राजीनामा दिने मनस्थितिमा नरहेको बताएका थिए। उनले त्यसबेला आफू पराजयकै कारण पद छाड्ने व्यक्ति नभएको स्पष्ट पारेका थिए।
तर, पछिल्ला घटनाक्रमले उनको निर्णय परिवर्तन भएको संकेत गरेका छन्। यद्यपि यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ।