BIZMANDU
www.bizmandu.com

अल्जेरियालाई हराउँदै स्वीट्जरल्याण्ड विश्वकपको अन्तिम १६ मा, ८८ वर्षपछि बन्यो कीर्तिमान

२०८३ असार १९

अल्जेरियालाई हराउँदै स्वीट्जरल्याण्ड विश्वकपको अन्तिम १६ मा, ८८ वर्षपछि बन्यो कीर्तिमान
Switzerland's Granit Xhaka (10) heads the ball past Algeria's Riyad Mahrez (7) during the World Cup round of 32 soccer match between Switzerland and Algeria in Vancouver, British Columbia, Thursday, July 2, 2026. (AP Photo/Lindsey Wasson)

काठमाडौं। स्वीट्जरल्याण्ड विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा अल्जेरियालाई हराउँदै स्वीट्जरल्याण्ड विश्वकपको प्रि-क्वाटरफाइनलमा पुगेको हो।

Tata
GBIME
Nepal Life

यसअघि ३२ टोली सहभागी हुँदा पनि समूह चरण पार गरेर स्वीट्जरल्याण्ड अन्तिम १६ मा पुगेको भएपनि नकआउट चरणमा भने जित निकाल्न सकेको थियो। यसपटक समूह चरण पार गर्दै पहिलो नकआउट नै अन्तिम ३२ मा भयो। आजको खेलमाजित निकाल्दा उसले ८८ वर्षपछि फिफा विश्वकपको नकआउटमा जित निकाल्न सफल भयो।

राउण्ड अफ ३२ अन्तर्गत भ्यानकुभरमा शुक्रबार बिहान सम्पन्न खेलमा अल्जेरियालाई २–० गोलले हराउँदै स्वीट्जरल्याण्ड लगातार चौथो विश्वकपमा अन्तिम १६ को यात्रा तय गरेको हो।

खेलको १०औं मिनेटमा जोहान मान्जाम्बीको उत्कृष्ट व्यक्तिगत प्रयासमा ब्रिल एम्बोलोले गोल गर्दै स्वीट्जरल्याण्डलाई अग्रता दिलाएका थिए। मान्जाम्बीले मैदानको बीचबाट एकल दौड गर्दै बल पेनाल्टी क्षेत्रभित्र पुर्‍याएका थिए र एम्बोलोलाई खाली पोस्टमा सहज गोल गर्ने अवसर मिलाएका थिए।

दोस्रो हाफ सुरु भएको मात्र ४८ सेकेन्डमै स्वीट्जरल्याण्डले अर्को गोल थप्यो। अल्जेरियन रक्षापंक्तिले क्लियर गरेको बल डान एनडोयेसम्म पुगेपछि उनले उत्कृष्ट फिनिस गर्दै टोलीको अग्रता दोब्बर बनाए।

अल्जेरियाले बल निकै समय आफ्नो नियन्त्रणमा राखेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन। बरु स्वीट्जरल्याण्डले सिर्जना गरेका अवसरहरू निकै प्रभावकारी बने। खेलको अन्त्यतिर वैकल्पिक खेलाडी फाबियन रिडरले खुला पोस्टमा हानेपनि गोलमा परिणत भएन।

यस जितसँगै स्वीट्जरल्याण्डले सन् १९३८ यता पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको हो। साथै टोली लगातार चौथो विश्वकपमा अन्तिम १६ मा पुगेको छ।

अब स्वीट्जरल्याण्डले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा कोलम्बिया अथवा घानासँग प्रतिस्पर्धा गर्नेछ।

यता अल्जेरियाको भने पहिलो पटक विश्वकपको नकआउट चरणमा जित निकाल्ने सपना फेरि अधुरै रह्यो। सन् २०१४ पछि दोस्रो पटक नकआउट पुगेको अल्जेरिया राउण्ड अफ ३२ बाटै बाहिरिएको हो।