काठमाडौं। सरकारले अध्यादेश प्रतिस्थापनका लागि ल्याएका चार वटा विधेयक प्रतिनिधि सभाले पारित गरेको छ।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित गरेको हो।
सरकारले गत वैशाख तेस्रो साता सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण निवारण लगायत ८ वटा अध्यादेश ल्याएको थियो। ८ मध्ये चार वटा अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभाले असार ५ गते स्वीकृत गरेका थिए।
अध्यादेश जारी भएको एक सातापछि अर्थात वैशाख २८ गते संसद्को अधिवेशन सुरु भएको थियो। अध्यादेश सुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक संसद्का दुवै सदनबाट पारित गरी प्रमाणीकरण भइसक्नुपर्छ। यसका लागि सरकारसँग अब एक साता मात्र समय छ। त्यो समयभित्र प्रमाणीकरण नभए अध्यादेश स्वत: निष्कृय हुन्छ।
सरकारले ४ वटा अध्यादेशको भने प्रतिस्थापन विधेयक नै ल्याएको छैन।