BIZMANDU
www.bizmandu.com

मूल्य घट्ने बेला डिपोबाट इन्धन उठाउन पेट्रोल पम्पको सधैं अटेरी, व्यवसायीलाई किन बनाइँदैन बाध्य?

२०८३ असार १८

मूल्य घट्ने बेला डिपोबाट इन्धन उठाउन पेट्रोल पम्पको सधैं अटेरी, व्यवसायीलाई किन बनाइँदैन बाध्य?
मूल्य घट्ने बेला डिपोबाट इन्धन उठाउन पेट्रोल पम्पको सधैं अटेरी, व्यवसायीलाई किन बनाइँदैन बाध्य?

काठमाडौं। पेट्रोलियम व्यवसायीले मगंलबार नेपाल आयल निगमसँग निक्कै कम परिमाणमा मात्र डिजल/पेट्रोल खरिद गरे।

Tata
GBIME
Nepal Life

थानकोट डिपोबाट सोमबार पेट्रोल ८३६ किलोलिटर र डिजल ६०५ किलोलिटर उठाएका इन्धन व्यवसायीले मंगलबार पेट्रोल १८१ किलोलिटर र डिजल ६६ किलोलिटर मात्रै किने। नेपालगंज र धनगढी डिपोमा त मंगलबार पेट्रोल र डिजल बिक्री नै भएन।

त्यसको असर बुधबार देशभरका पेट्रोल पम्पमा देखियो। ‘पेट्रोल छैन’ भन्ने सूचनासहित १४ वटा पम्प बन्द नै गरियो। उपभोक्ताले अभाव खेप्नुपर्‍यो।

पेट्रोल पम्पहरुले मंगलबार किन सामान्य अवस्थामा झै इन्धन उठाउन मानेनन् त? त्यसदिन भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आउने तालिका थियो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ६९ डलरमा झरेका कारण भारतबाट भाउ घटेर आउनेमा व्यवसायी विश्वस्त थिए।

अझ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नै प्रतिनिधि सभाको बैठकमा नै पेट्रोल र डिजलको मूल्य लिटरमा २० रुपैयाँसम्म घट्ने बताएका थिए। मूल्य घट्ने अवस्थामा बढी मूल्यमा इन्धन उठाउन व्यवसायी तयार भएनन् जसको असर उपभोक्ताले खेप्नुप्‍यो।

पेट्रोलियम व्यवसायी लिलेन्द्र प्रधानले मूल्य धेरै घटेर आउने पक्कापक्की भएका कारण आफूहरुले इन्धन नउठाएको हाकाहाकी बताए।

‘अन्तर्राष्टिय बजारमा कच्चा तेलको भाउ घटेकाले भारतबाट मूल्य घटेर आउँछ भन्ने थियो। त्यसमा पनि अर्थमन्त्रीज्यूले संसद्‍मा नै लिटरमा २० रुपैयाँसम्म मूल्य घट्छ भन्नुभयो। लिटरमा २० रुपैयाँ भनेको व्यवसायीका लागि ठूलो रकम हो। त्यसैले साथीभाइले मंगलबार तेल निक्कै कम उठाए,’ प्रधानले भने।

नभन्दै निगम सञ्चालक समितिले असार मंगलबार अर्थात १६ गते राति इन्धनको भाउ घटाउने निर्णय गर्‍यो। पेट्रोलको भाउ प्रति लिटर २० र डिजलको भाउ लिटरमा ३० रुपैयाँ घट्यो।

‘४/५ रुपैयाँ घटबढले धेरै असार गर्दैन। तर लिटरमा ३० रुपैयाँसम्म घट्यो। हामीले मंगलबार दिउँसो सामान्य अवस्थामा सरह इन्धन उठाएको भए ठूलो घाटा हुने थियो,’ प्रधानले भने।

निगमको टोलीले अनुगमन गरेपछि बुधबार साँझदेखि मात्र आपूर्ति सहज भएको थियो।

इन्धनको मूल्य घटबढ अन्तर्राष्ट्रिय बजारमा भर पर्छ। अन्तर्राष्ट्रिय बजारमा भाउ हरेक दिन तलमाथि हुन्छ। भारतीय आयल निगमले भने नेपाल आयल निगमलाई हरेक १५ दिनमा मूल्य सूची पठाउने गरेको छ। अन्तर्राष्ट्रिय बजारको भाउ हरेक क्षण थाहा हुने भएकाले भारतबाट घटेर वा बढेर आउँछ भन्ने व्यवसायीलाई पत्तो नहुने कुरै भएन। निगमले भारतबाट आउने मूल्यका आधारमा भाउ घटबढ गर्ने गरेको छ।

भाउ बढ्ने अवस्थामा व्यवसायीले सामान्य अवस्थाको भन्दा बढी उठाउने गरेका छन्। सस्तो मूल्यमा किनेर महँगो मूल्यमा बेच्न पाउँदा नाफा धेरै हुन्छ। तर भाउ घट्ने अवस्थामा भने व्यवसायीहरुले जहिल्यै इन्धन उठाउन अटेरी गर्ने गरेका छन्।

व्यवसायीहरुले मूल्य बढ्दा बढी तेल उठाउने र घट्दा उठाउनै नमान्ने स्थितिलाई कसरी समाधान गर्न सकिन्छ त? व्यवसायी प्रधान यस्ता समस्या आउन नदिन निगमले पम्प सञ्चालकहरुसँग छलफल गर्नुपर्ने बताउँछन्।

‘निगमले मूल्य घटेको बेला व्यवसायीलाई घाटा हुनेतर्प ध्यान दिन आवश्यक छ। दुवै पक्षको विनविन हुने गरी काम गर्नुपर्छ,’ उनले भने।

निगमको विनियमावली अनुसार निगमले तोकेको नयाँ मूल्यबाट हुने लाभ वा हानिको दायित्व बिक्रेताको हुनेछ। ‘निगमबाट बिक्रेतालाई बिक्री गरी सकिएको पेट्रोलियम पदार्थको मूल्यमा परिवर्तन भएको कारणबाट उत्पन्न हुन‍े हानि वा नोक्सानीको दायित्व निगमले बहन गर्ने छैन,’ विनियमावलीमा भनिएको छ।

निगमले मूल्य घट्ने वा बढ्ने स्थितिमा नियमित अवस्थामा झैं तेल खरिद गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छैन। तर विनियमावलीमा बिक्रेताले ३० दिनमा एक पटक पनि तेल नलिएमा कारबाही हुने भनिएको छ। त्यस्ता बिक्रेतालाई निगमले आपूर्ति बन्द गर्न सक्छ।

नियमावलीमा नै मूल्य घटबढ हुँदा सामान्य अवस्थामा सरहरको परिमाणमा तेल अनिवार्य रुपमा खरिद गर्नुपर्ने बाध्यकारी व्यवस्था नगरिएका कारण व्यवसायीले आँट गर्न सकेका हुन्।

इन्धन नाफा घाटासँग मात्र जोडेर हेर्ने अरु वस्तु जस्तो होइन। अत्यावश्यक वस्तु भएकाले उपभोक्ताले खोजेका बेला पाउनुपर्छ। तर मूल्य घट्ने बेलामा सधैं उही प्रवृत्ति दोहोरिरहँदा पनि नियामक निगमले किन कुनै कदम चाल्न सकेको छैन? व्यवसायीलाई इन्धन अनिवार्य किन्नका लागि निगमले किन बाध्य पार्न सकेको छैन?

निगमका उपनिर्देशक मनोज कुमार ठाकुर व्यवसायीलाई इन्धन किन्न बाध्य पार्ने कानुनी व्यवस्था नरहेका कारण खासगरी मूल्य घट्ने बेला समस्या दोहोरिरहेको बताउँछन्।

‘अत्यावश्यक वस्तुको सूचीमा रहेको पेट्रोलियम पदार्थमा व्यवसायीले यसरी घाटा नाफा मात्रै हेरेर हुँदैन। व्यवसायीले आवश्यक परिमाण बजारमा लैजानुपर्छ,’ ठाकुरले भने, ‘तरहाम्रो विनियमावलीले व्यवसायीलाई मूल्य घटबढ हुँदा यति परिमाण चाहिं खरिद गर्नैपर्ने भन्ने कुनै पनि बाध्यकारी व्यवस्था गरेको छैन। त्यसैले उनीहरुले घाटाबाट जोगिन मंगलबार तेल नउठाएका हुन्।’

निगम विनियमावलीलाई देखाएर पन्छिने र व्यवसायीले घाटा थेग्न नसकिने भन्दै उम्किने प्रवृत्ति अन्त्यका लागि कानुनमा नै अत्यावश्यक वस्तुमा नाफा घाटा नहेरी मूल्य घट्ने समयमा पनि तेल अनिवार्य रुपमा डिपोबाट उठाउनैपर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ।

सामान्य अवस्थामा उठाएको परिमाणको निश्चित प्रतिशत किन्नैपर्ने व्यवस्था गर्नुका साथै अभाव सिर्जना गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने हो भने आगामी दिनमा ग्राहकले पेट्रोल पम्प चहार्दै हिंड्नुपर्ने अवस्था अन्त्य हुनेछ।