BIZMANDU
www.bizmandu.com

दुई गोलले पछि परेको स्थितिबाट नाटकीय जित निकाल्दै बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो

२०८३ असार १८

दुई गोलले पछि परेको स्थितिबाट नाटकीय जित निकाल्दै बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो
दुई गोलले पछि परेको स्थितिबाट नाटकीय जित निकाल्दै बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो

काठमाडौं। बेल्जियमले सेनेगलमाथि नाटकीय जित निकाल्दै प्रि-क्वाटरफाइनलमा पुगेको छ। दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै बेल्जियम फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा पुगेको हो। यसक्रममा बेल्जियमले अफ्रिकी जायन्ट सेनेगललाई अतिरिक्त समयको इन्जुरी टाइममा ३-२ ले हराउँदै प्रि-क्वाटरफाइनलमा स्थान बनायो।

Tata
GBIME
Nepal Life

रोमाञ्चक प्रतिस्पर्धामा सेनेगलले सुरुदेखि नै दबाब कायम गरेको थियो। खेलको २५औँ मिनेटमा हाबिब डियाराले गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफमा सेनेगलले अग्रता दोब्बर बनाउन सफल भयो। ५१ औँ मिनेटमा इस्माइला सारले अर्को गोल थपेपछि सेनेगल २-० गोलको बलियो अवस्थामा पुगेको थियो।

तर, बेल्जियमले खेलको अन्तिम समयमा अविश्वसनीय पुनरागमन गर्‍यो। वैकल्पिक खेलाडी रोमेलु लुकाकुले ८६औँ मिनेटमा गोल गर्दै अन्तर घटाए भने ८९औँ मिनेटमा युरी टिलेमान्सले बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्‍याए।

अतिरिक्त समयको इन्जुरी टाइममा निर्णायक मोड आयो। टिलेमान्समाथि पेनाल्टी क्षेत्रमा फाउल भएपछि रेफ्रीले भीएआरको सहायतामा पेनाल्टी दिए। यो अवसरमा टिलेमान्सले पेनाल्टीलाई गोलमा परिणत गर्दै बेल्जियमलाई ३-२ गोलको अविस्मरणीय जित दिलाए।

खेलको ३२औँ मिनेटमा तीन जना दर्शक मैदानमा प्रवेश गरेपछि केहीबेर खेल अवरुद्ध भएको थियो। उनीहरूलाई बाहिर निकाल्न करिब एक दर्जन सुरक्षाकर्मी मैदानमा खटिएका थिए।

बेल्जियमले प्रि-क्वाटरफाइनलमा अमेरिका र बोस्निया हर्जगोभिनामध्ये एक टोलीसँग खेल्नेछ। यी दुई टोलीको आजै हुने खेलले बेल्जियमको अन्तिम १६ मा हुने प्रतिस्पर्धीको टुंगो लगाउने छ।