BIZMANDU
www.bizmandu.com

रास्वपाको केन्द्रीय समितिमा शक्ति बढाउँदै बालेन, कस्तो बन्यो रवि-बालेन समीकरण?

२०८३ असार १७

रास्वपाको केन्द्रीय समितिमा शक्ति बढाउँदै बालेन, कस्तो बन्यो रवि-बालेन समीकरण?
रास्वपाको केन्द्रीय समितिमा शक्ति बढाउँदै बालेन, कस्तो बन्यो रवि-बालेन समीकरण?

काठमाडौं। २६ जना समर्थक लिएर ६ महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले केन्द्रीय समितिमा शक्ति बढाउँदै गएका छन्।

Tata
GBIME
Nepal Life

रास्वपाको चितवनमा सम्पन्न पहिलो महाधिवेशनमा शाह पक्षले आफ्नो संख्या केन्द्रीय समितिमा उल्लेख्य रुपमा बढाएको छ। १५८ सदस्यीय केन्द्रीय समितिको निर्वाचित ९९ सदस्यमा पनि शाह समूहका नेताहरुले उल्लेख्य संख्यामा चुनाव जितेका हुन्। निर्वाचित सदस्यले बुधबार सभापति रवि लामिछानेबाट शपथ लिइसकेका छन्।

रास्वपाभित्र पार्टी स्थापनकालदेखिका नेता र जेनजी विद्रोहपछि पार्टी प्रवेश गरेकाबीच महाधिवेशनमा पनि ध्रुवीकरण देखिएको थियो। लामिछाने पक्षका नेताहरुले संस्थापक भन्दै भोट मागेका थिए भने शाह पक्षले परिवर्तन गरेर आएको भन्दै प्रतिनिधिहरुलाई मनाउन खोजेका थिए। बालेन पक्षबाट आएका नेताहरुमध्ये सागर ढकाल रास्वपाभित्र लोकप्रिय देखिएका छन्। उनले शाह समूहबाट सबैभन्दा बढी २ हजार ३७६ मत ल्याएका छन्। 

महाधिवेशनअघि रास्वपाभित्रको गुटबन्दी सतहमा देखिने गरेको थिएन। तर, महाधिवेशनकाबेला र त्यसपछि रास्वपाभित्र प्रष्ट रुपमा दुई समूह देखिएका हुन्। 

बालेन पक्षका केन्द्रीय सदस्य

सागर ढकाल
डा. तोसिमा कार्की
पुकार बम
मनिष झा
सुलभ खरेल
सस्मित पोखरेल
रिमा विश्वकर्मा
राजुनाथ पाण्डे
गणेश कार्की
असिम साह
हिमेस पन्त
लिमा अधिकारी आचार्य
सुशान्त वैदिक
प्रकृति ढकाल
खगेन्द्र सुनार
अनुष्का श्रेष्ठ
बब्लु गुप्ता
विदुशी राणा
मनिष खनाल
के. पी. खनाल
हेमराज थापा
टासी ल्हाङ्गजोम
रहबर अन्सारी

असन्तुष्टलाई तान्दै शाह पक्ष

शाह समूहले पुसमा रास्वपामा प्रवेश गर्ने बेलाका सदस्य मात्रै नभइ लामिछानेसँग असन्तुष्ट सदस्यहरुलाई समेत आफ्नो समूहमा अटाउन थालेका छन्। रास्वपाको महाधिवेशनमा पनि लामिछाने समूहसँग शाह समूहले प्रतिस्पर्धा गरेको थियो।

पदाधिकारीमा लामिछाने पक्षसँग चुनाव नजिते पनि केन्द्रीय सदस्यमा भने २३ जनाले चुनाव जितेका छन्। बाँकी मनोनीत हुने ५१ जनामा पनि अधिकांश शाह समूबाटै समावेश हुने उक्त समूहका नेताहरु बताउँछन्।

रास्वपामा प्रवेश गरेका समूहरुलाई अटाउनकै लागि मनोनीत केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाउनुपरेको लामिछानेले महाधिवेशनमै बताएका थिए। 

सचिवालयमा पनि दाबी

१९ सदस्यीय पदाधिकारीमा १ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री, १ प्रवक्ता, ३ सहप्रवक्ता, १ कोषाध्यक्ष र २ सहकोषाध्यक्ष गरी  ११ जना मनोनीत हुन बाँकी छ। पदाधिकारीमा पनि अब शाह समूहका नेताहरुलाई समेटेर पूर्णता दिने तयारी छ। ३३ सदस्यीय सचिवालयमा पनि लामिछाने र शाह समूहलाई बराबरी रुपमा समेटने तयारी छ। उपसभापतिमा शाह समूहका सुनिल लम्साल र महामन्त्रीमा भुपदेव शाहलाई मनोनीत गर्ने आश्वासन दिएर लामिछानेले महाधिवेशनमा उम्मेदवार नबन्न आग्रह गरेका थिए।

रास्वपा विधानको धारा २३ अनुसार लामिछानेले २० जनालाई आफू अनुकूल मनोनीत गर्नेछन् भने बाँकी १३ जना पदाधिकारी सचिवालयमा रहनेछन्। केन्द्रीय समितिले लामिछानेलाई मनोनीतको नाम टुंग्याउने अधिकार दिइसकेको छ। ‘हामीले मनोनीत हुनेबारेमा निर्णय गर्ने अधिकार सभापतिज्यूलाई दिइसकेका छौं। उहाँले गर्नुहोला,’ सहमहामन्त्री निशा डाँगीले भनिन्।

शाह पक्षको शक्ति बढ्न थालेकोमा आपत्ति

रास्वपाका एक नेताका अनुसार केन्द्रीय समितिमा लामिछाने इतरले क्रमश: शक्ति बढाउँदै लगेपछि संस्थापन पक्ष झस्किएको छ।

‘अहिले सभापतिलाई स्वर्णिम वाग्लेको पनि त्यति साथ देखिन्न। पहिला सभापतिसँगै भएका नेताहरु पनि अहिले त्यति सन्तुष्ट छैनन्। सकारमा अवसर पाउने कुराले पनि अलिकति अप्ठेरो आउने रहेछ,’ उनले भने।

लामिछानेले पार्टीका आन्तरिक बैठकहरुमा पनि भागबण्डाको राजनीति नगर्न भन्दै नेताहरुलाई सचेत गराउन थालेका छन्। महाधिवेशनमा पनि लामिछानेले पदाधिकारी र केन्द्रीय समिति सर्वसम्मत बनाउन खोजेका थिए। तर, इतरपक्ष तयार नभएपछि ३ दिन ढिलोगरी निर्वाचन भएको थियो।