BIZMANDU
www.bizmandu.com

बिजुली र राइड सेयरिङमा साउनदेखि भ्याट लगाउन बनाइयो कार्यविधि, यस्तो छ व्यवस्था

२०८३ असार १७

बिजुली र राइड सेयरिङमा साउनदेखि भ्याट लगाउन बनाइयो कार्यविधि, यस्तो छ व्यवस्था
बिजुली र राइड सेयरिङमा साउनदेखि भ्याट लगाउन बनाइयो कार्यविधि, यस्तो छ व्यवस्था

काठमाडौं। आन्तरिक राजस्व विभागले विद्युत् उपयोग र राइड सेयरिङमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने तयारी लगभग पूरा गरेको छ।

Tata
GBIME
Nepal Life

सरकारले आगामी आव २०८३/८४ को बजेटमार्फत घरायसी उपभोगको विद्युत्‌ र राइड सेयरिङमा ५ प्रतिशत भ्याट लाग्ने घोषणा गरेपछि त्यसका लागि विभागले कार्यविधि बनाएको छ।

राइडरबाट कम्पनीले पाउने कमिसनमा र व्यावसायिक प्रयोजनको विद्युत्‌ उपभोगमा १३ प्रतिशत भ्याट लगाउने व्यवस्था पनि थप भएकाले नयाँ शीर्षकमा कर साउन १ गतेदेखि लागू गर्न विभागले कार्यविधि बनाएको हो।

‘विभागले थप भएका भ्याटको कार्यविधि लगभग तयार गरिसकेको छ। अब यसको दायरामा पर्ने निकायले सोहीअनुसार आफ्नो बिलिङ सिस्टम बनाउनुपर्नेछ। नेपाल विद्युत् प्राधिकरण र राइड सेयरिङ कम्पनी दुवै यसमा तयार देखिएका छन्,’ विभागका निर्देशक केशव रघुवंशीले भने।

साउनदेखि पठाओ, इनड्राइभ, उबर, याङ्गो लगायतमा राइड सेयरिङ गर्दा ५ प्रतिशत भ्याट लाग्ने छ। त्यस्तै ५० युनिट माथिको बिजुली बिलमा ५ प्रतिशत भ्याट जोडिएर आउने छ।

कम्पनीको नाममा रहेका बिलमा भने नेपाल विद्युत् प्राधिकरणले १३ प्रतिशत भ्याटसहितको बिल जारी गर्ने विभागले जनाएको छ। राइडरबाट कम्पनीले पाउने कमिसनमा पनि १३ प्रतिशत भ्याट लाग्नेछ।

कार्यविधिअनुसार कम्पनीले राइड सेयरिङ कारोबारको ५ प्रतिशत र राइडरबाट लिएको कमिसन रकमको १३ भ्याट आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेछ।

जस्तो कुनै यात्रुले १०० रुपैयाँको राइड गर्दा २० रुपैयाँ राइडरले कम्पनीलाई दिने कमिसन हुनसक्छ। यस्तो अवस्थामा १०० रुपैयाँ ५ प्रतिशत भ्याटसहितको रकम हुनेछ जुन उपभोक्ताले तिर्छन्। कम्पनीले पाउने २० रुपैयाँमा अलग्गै १३ प्रतिशत भ्याट लाग्ने छ।

‘उपभोक्ताले तिर्ने अन्तिम कारोबार मूल्य भ्याट जोडेर तय गर्नुपर्ने व्यवस्था भएकाले अबदेखि यात्रुले तिर्ने रकम भ्याटसहितको हुनेछ,’ विभागका निर्देशक रघुवंशीले भने।

पसलहरू जस्तो प्रत्येक राइडर छुट्टाछुट्टै भ्याटमा दर्ता हुन सम्भव नभएकाले राइडरबाट उठेको रकमलाई  अन्तिम मानेर कम्पनीले भ्याट तिर्ने व्यवस्था गरिएको छ। ‘राजस्व कार्यालयले कम्पनीको कारोबारबाट भ्याट लिनेछ। त्यसैले अहिलेलाई यात्रुले बुकिङ गर्दा नै ५ प्रतिशत भ्याटसहितको मूल्य देखाउने गरी एप बनाउने वा अहिलेकै एपमा भ्याटसहितको मूल्य तय हुने जिम्मा सम्बन्धित राइड सेयरिङ कम्पनीलाई नै छोडिएको छ,’ रघुवंशीले भने।

काठमाडौं उपत्यका र देशका प्रमुख सहरमा दैनिक हजारौं ट्रिप राइड सेयरिङ सेवा प्रयोग हुने गरेको छ। यसबाट आगामी आर्थिक वर्ष करिब १ अर्ब ५० करोड रुपैयाँ जति भ्याट संकलन हुने सरकारी अनुमान छ।

साउन १ देखि ५० युनिटभन्दा बढी विद्युत् उपभोगमा ५ र १३ प्रतिशतका दरले दुईवटा भ्याट लाग्ने छ। प्राधिकरणले साउनको बिल भ्याटसहित पठाउने छ। कम्पनीहरूले भने बिजुलीको भ्याट फिर्ता लिन सक्ने व्यवस्था छ।

प्राधिकरण अन्तर्गत ५९ लाखभन्दा बढी ग्राहक छन्। घरायसी प्रयोजनका ५३ लाख ४३ हजार र व्यावसायिक प्रयोजनका ५ लाख ५० हजार हाराहारी ग्राहक रहेको प्राधिकरणले जनाएको छ। ती ग्राहकबाट वार्षिक १ खर्ब ११ अर्बभन्दा बढी महसुल संकलन हुने गरेको छ।

बिजुलीमा भ्याटबाट वार्षिक करिब ६ अर्ब संकलन हुने अनुमान गरिएको अर्थ मन्त्रालयले जनाएको छ। यसमा व्यावसायिक प्रयोजनको भ्याट फिर्ता हुँदा पनि सरकारी ढुकुटीमा करिब साढे ४ अर्ब रहने मन्त्रालयको आंकलन छ।