काठमाडौं। नबिल बैंकले लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड जितेको छ। बैंकले पहिलो पटक प्रदान गरिएका दुई नयाँ विधामा पनि अवार्ड पाएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले निजी क्षेत्रका बैंकतर्फ आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनको मूल्याङ्कनका आधारमा नबिल बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड प्रदान गरेको हो।
यससँगै बीपीए पुरस्कारको इतिहासमै पहिलो पटक समावेश गरिएका ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ अन्तर्गत बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ समेत प्राप्त गरेको छ।
मंगलबार काठमाडौंमा आयोजित समारोहमा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दीप बाबु पौडेललाई अवार्ड हस्तान्तरण गरे।
आइक्यानका अनुसार अवार्ड छनोटका क्रममा वित्तीय पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा दिगोपनाजस्ता महत्त्वपूर्ण सूचकलाई आधार बनाइएको थियो। ती सबै मापदण्डमा उत्कृष्ट प्रदर्शन गरेपछि नबिल बैंकलाई सम्मानित गरिएको हो।
नबिल बैंकले यसअघि पनि सन् २०२३ र २०२४ का वार्षिक प्रतिवेदनका लागि उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड प्राप्त गरेको थियो। लगातार तेस्रो पटक प्राप्त भएको यो सफलताले वित्तीय प्रतिवेदनको गुणस्तर र अन्तर्राष्ट्रिय अभ्यासअनुसारको प्रस्तुतीकरणलाई पुष्टि गरेको बैंकले जनाएको छ।
आयोजक संस्थाका अनुसार नबिल बैंकको पुरस्कृत वार्षिक प्रतिवेदन अब नेपालको प्रतिनिधित्व गर्दै दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बीपीए अवार्डका लागि समेत मनोनयन हुनेछ। यसले बैंकलाई क्षेत्रीय स्तरमा आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।