BIZMANDU
www.bizmandu.com

एम्बाप्पे र हाल्याण्ड दुबै प्रि-क्वाटरफाइनलमा, फ्रान्सको प्रतिस्पर्धी पाराग्वे र नर्वेको ब्राजिल

२०८३ असार १७

एम्बाप्पे र हाल्याण्ड दुबै प्रि-क्वाटरफाइनलमा, फ्रान्सको प्रतिस्पर्धी पाराग्वे र नर्वेको ब्राजिल
एम्बाप्पे र हाल्याण्ड दुबै प्रि-क्वाटरफाइनलमा, फ्रान्सको प्रतिस्पर्धी पाराग्वे र नर्वेको ब्राजिल

काठमाडौं। फ्रान्सका कप्तान किलियन एम्बाप्पे र नर्वेका स्टार स्ट्राइकर एर्लिङ हाल्याण्डको उत्कृष्ट प्रदर्शनसँगै उनीहरूको टोली फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनलमा प्रवेश गरेका छन्। गएराति सम्पन्न अन्तिम ३२ का खेलमा फ्रान्सले स्वीडेनलाई ३-० गोलले तथा नर्वेले आइभरी कोस्टलाई २-१ गोलले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेका हुन्।

Tata
GBIME
Nepal Life

न्युयोर्क-न्युजर्सी स्टेडियममा भएको खेलमा फ्रान्सले स्वीडेनमाथि सुरुदेखि नै दबाब कायम राख्यो। पहिलो हाफ अन्तिम मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। खेलको ५३ औँ मिनेटमा ब्राड्ली बार्कोलाले माइकल ओलिसेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै अन्तर दोब्बर बनाए।

७४औं मिनेटमा फेरि ओलिसेको थ्रु पासमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको ३-० गोलको सहज जित सुनिश्चित गरे। एम्बाप्पेको यो प्रतियोगितामा छैटौं गोल हो भने विश्वकपमा उनको कुल गोल संख्या १८ पुगेको छ। यस जितसँगै फ्रान्सले प्रि-क्वाटरफाइनलमा पाराग्वेसँग भेट पक्का गरेको छ।

यता डलासमा भएको अर्को रोमाञ्चक खेलमा नर्वेले आइभरी कोस्टलाई २-१ ले पराजित गर्‍यो। पहिलो हाफको ३९औं मिनेटमा एन्टोनियो नुसाले शानदार व्यक्तिगत प्रयासमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा सब्सिच्युडका रूपमा मैदान प्रवेश गरेका अमाद डियालोले ७४औं मिनेटमा उत्कृष्ट व्यक्तिगत गोल गर्दै आइभरी कोस्टलाई खेलमा फर्काए। खेल अतिरिक्त समयमा धकेलिने संकेत देखिँदै गर्दा ८६औं मिनेटमा प्याट्रिक बर्गको पासमा हाल्याण्डले निर्णायक गोल गर्दै नर्वेलाई जित दिलाए।

नर्वेले अब प्रि-क्वाटरफाइनलमा पाँचपटकको विश्वविजेता ब्राजिलको सामना गर्नेछ। ब्राजिलले अन्तिम ३२ मा जापानलाई र पाराग्वेले जर्मनीलाई हराएर प्रि-क्वाटरफाइनलमा पुगेका थिए। स्वीडेन र आइभरी कोस्ट भने बाहिरिएका छन्।