काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले सीएफओ कन्फ्रेन्स गरेर वित्तीय नेतृत्व र यसका विभिन्न आयामबारे छलफल गरेको छ।
आइक्यानले ‘लिडिङ बियोन्ड फाइनान्स, सेपिङ द फ्युचर’ थिमसहित विभिन्न क्षेत्रका प्रमुख वित्त अधिकृत, उद्योगी व्यवसायी, नीति निर्माता, वित्त तथा व्यवस्थापन विज्ञ, चार्टर्ड एकाउन्टेन्ट र पेशागत प्रतिनिधि सहभागितामा कन्फ्रेन्स गरेको हो। कन्फ्रेन्समा वित्तीय क्षेत्रमा कार्यरत प्रमुख वित्त अधिकृतहरुको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रममा बदलिँदो आर्थिक परिवेशमा वित्तीय नेतृत्वको भूमिका, संस्थागत सुशासन, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन, नवप्रवर्तन व्यावसायिक विकासका विषयमा छलफल भएको छ।
कन्फ्रेन्सका वक्ताहरुले भविष्यमा आइपर्ने चुनौती सामना गर्न वित्तीय नेतृत्वले तथ्यमा आधारित निर्णय गर्नुपर्ने, प्रविधिको प्रभावकारी प्रयोग गर्नुपर्ने र अन्तर्राष्ट्रिय अभ्याससँग तालमेल गर्नुपर्नेमा जोड दिएका छन्।
आइक्यानका अध्यक्ष निलबहादुर सारुमगरले नेपालको आर्थिक समृद्धिमा सीएफओको रुपमा कार्यरत सीएको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले सीएफओका रुपमा कार्यरत चार्टर्ड एकाउन्टेन्टहरुको वृत्ति विकासमा सहयोगी हुने खालका कार्यक्रम गर्न आइक्यानले मद्दत गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज कुमार ज्ञवालीले पछिल्ला दिनमा सीएफओको भूमिकामा परिवर्तन आइसकेकाले प्राविधिक रुपमा सक्षम हुनुपर्नेमा जोड दिए।
उनले अबका दिनमा हरेक सीएफओले आफूलाई संस्थाको सीइओ नै सम्झेर काम गर्नुपर्ने भन्दै लेखासँग सम्बन्धित काममा मात्र सीमित नहुन आग्रह गरे।