काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई रिहा गर्न माग गरिएको मुद्दामा बिचौलिया दीपक भट्ट र सुलभ अग्रवालविरुद्धको अभियोगपत्रको सक्कल फाइल मागेको छ।
न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले भट्ट र अग्रवालविरुद्ध दायर गरिएको मुद्दाको फाइल झिकाउन मंगलबार आदेश दिएको हो।
भट्ट र अग्रवाल दुवै सम्पत्ति शुद्धीकरण, धितोपत्र सम्बन्धी कसुर लगायत विभिन्न मुद्दामा पुर्पक्षका लागि हाल थुनामा छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टसँगको कनेक्सन र शंकास्पद आर्थिक कारोबारका आधारमा पूर्वअर्थमन्त्री पौडेललाई असार ८ गते पक्राउ गरेको थियो।
पौडेललाई रिहा गर्न माग गर्दै उनकी पत्नी दोमाया पौडेलले असार १० गते बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन्। बन्दीप्रत्यक्षीकरणको रिटमा अब १८ गते सुनुवाइ हुनेछ।
विशेष अदालतले पौडेललाई अनुसन्धानका लागि हिरासतमा राख्न दोस्रो पटक सोमबार तीन दिनको म्याद दिएको थियो।