काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कर्मचारीको सरुवामा नयाँ मापदण्ड लागू गरिएको छ। कृषिमन्त्री गीता चौधरीले सुशासन कायम गर्ने भन्दै नयाँ मापदण्ड लागू गरेकी हुन्।
सुशासन कायम गर्नुका साथै मुलुकका विभिन्न भौगोलिक क्षेत्रको आवश्यकता अनुसारको अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउन कर्मचारी सरुवा तथा पदस्थापना व्यवस्थापनसम्बन्धी नयाँ मापदण्ड बनाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ।
नयाँ मापदण्ड अनुसार वर्षौंदेखि काठमाडौं केन्द्रित कर्मचारीले अब दुर्गम क्षेत्रका कार्यालयमा खटिनुपर्नेछ। कर्मचारीहरुमा राजनीतिक पहुँचका आधारमा काठमाडौंबाहिर जान नमान्ने प्रवृत्ति छ।
मन्त्री चौधरीले दुर्गम क्षेत्रका कार्यालयमा कर्मचारी अभाव हुने र काठमाडौंमा रहेका कर्मचारी कामबिहीन हुने स्थिति अब अन्त्य हुने दाबी गरिन्।
नयाँ मापदण्डअनुसार अब निश्चित समयावधिमा मात्र नार्कका कर्मचारीको सरुवा हुनेछ। समान भौगोलिक वर्गका कार्यालयमा सरुवा हुने छैन। कार्यालय प्रमुखको जिम्मेवारी नेतृत्व क्षमता, कार्यसम्पादन, बेरुजु फर्स्योट र लक्ष्य प्रगतिका आधारमा दिइने मापदण्डमा उल्लेख छ।
मापदण्ड अनुसार नयाँ नियुक्ति पाउने कर्मचारीलाई काठमाडौं बाहिर रिक्त पदमा पदस्थापन गरिनेछ।