BIZMANDU
www.bizmandu.com

निर्माण सम्पन्न दुई प्रसारण लाइन आयोजना चार्जका लागि तयार, प्राधिकरणले तोक्यो मिति

२०८३ असार १६

निर्माण सम्पन्न दुई प्रसारण लाइन आयोजना चार्जका लागि तयार, प्राधिकरणले तोक्यो मिति
निर्माण सम्पन्न दुई प्रसारण लाइन आयोजना चार्जका लागि तयार, प्राधिकरणले तोक्यो मिति

काठमाडौं। निर्माण सम्पन्न उच्च क्षमताका दुई प्रसारण लाइनलाई विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइने भएको छ। नेपाल विद्युत प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी र ढल्केवर-बालगंगा १३२ केभी प्रसारण लाइन परीक्षण गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

नवनिर्मित संरचनाहरूलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न उच्च भोल्टेजको विद्युत प्रवाह गरिने भएकाले प्राधिकरणले मंगलबार छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै स्थानीय बासिन्दा तथा सरोकारवालालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको ढल्केवर-बालगंगा १३२ केभी प्रसारण लाइन आयोजनाको विद्युत प्रवाह परीक्षण मंगलबारदेखि सुरु गरिँदैछ। धनुषा जिल्लाको ढल्केवर सबस्टेशनदेखि हंसपुर नगरपालिका-९ मा रहेको बालगंगा सबस्टेशनसम्म १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत प्रवाह गरी यो परीक्षण गरिने प्राधिकरणले जनाएको छ।

प्रसारण लाइनका टावरहरु धनुषाका बटेश्वर-५, लक्ष्मिनियाँ-३ र ६, मिथिला विहारी-८, ९ र १०, औरही-१ र हंसपुरको वडा नम्बर १, ४ र ९ मा छन्।

यसैगरी युरोपियन लगानी बैंकको ऋण सहयोग तथा नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्मित मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतको मार्किचोक–भरतपुर खण्डको पनि परीक्षणको मिति तोकिएको छ। आगामी मंगलबार असार २३ गतेदेखि तनहुँको मार्किचोकस्थित न्यू मर्स्याङ्दी सबस्टेशनदेखि चितवनको आँपटारीस्थित न्यू भरतपुर सबस्टेशनसम्म २२० केभी क्षमताको डबल सर्किट (हाललाई एक सर्किट मात्र चार्ज हुने) लाइनबाट २२० किलोभोल्ट विद्युत प्रवाह गरी परीक्षण गरिने भएको छ।

यो प्रसारण लाइनको रुटमा तनहुँको आँबुखैरेनी-२, ३, ४ र ५, गोरखाको गोरखा-१४ याङकोट,  चितवनको भरतपुर-२९, जुगेडी, चौकीडाँडा र इच्छाकामना-६, रिग्दीखोलाका क्षेत्रहरू पर्छन्।

विद्युत प्रवाह परीक्षणका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले रुट पर्ने क्षेत्रका बासिन्दालाई सुरक्षा निर्देशिका पालना गर्न अपिल गरेको छ। प्रसारण लाइनका टावरहरूमा नचढ्न, तारको नजिक नजान, कुनै पनि वस्तुले तारमा नछुन र टावरको वरिपरि सर्वसाधारण तथा गाईवस्तुहरूलाई जान वा छोड्न नदिन आग्रह गरिएको छ।

साथै ‘खतरा’ संकेत जनाइएका विद्युतीय संरचनाहरूलाई नछुन र आफ्ना बालबच्चाहरूलाई समेत यस विषयमा सचेत गराउन भनिएको छ। परीक्षणका क्रममा कहिँ कतै झिल्का (स्पार्क) आएमा वा कुनै खतरा देखिएमा तुरुन्त नजिकको प्रहरी चौकी, विद्युत प्राधिकरणको कार्यालयमा खबर गर्न प्राधिकरणले सर्वसाधारणमा अनुरोध गरेको छ।