काठमाडौं। फिफा विश्वकप अन्तर्गत नकआउट चरणको हेभिवेट खेलमा मंगलबार बिहान पौने ७ बजे हेभिवेट खेल हुँदैछ। विश्वकपको राउण्ड अफ ३२ अन्तर्गत दुई शीर्ष वरीयताका टोली नेदरल्याण्ड्स र मोरक्कोबीच आज पौने ७ बजे मेक्सिकोको मोन्टेरे स्टेडियममा आमनेसामने हुँदैछन्।
नेदरल्याण्ड्स विश्वकपमा अभागी टोली भनेर चिनिने गरिन्छ। उसले तीन पटक विश्वकपको फाइनल खेले पनि उपाधि भने जित्न सकेको छैन। अर्कोतर्फ सन् २०२२ को विश्वकपमा स्पेन, पोर्चुगल जस्ता दुई उपाधि दाबेदार हराएर सनसनीपूर्ण सेमिफाइनलको यात्रा तय गरेको थियो।
समूह चरणमा प्रभावशाली प्रदर्शन गरेका यी दुई टोलीमध्ये विजेता टोलीले अन्तिम १६ मा क्यानडासँग भेट गर्नेछ।
समूह ‘एफ’को विजेता बन्दै नकआउट चरणमा पुगेको नेदरल्यान्ड्सले पहिलो खेलमा जापानसँग २-२ को बराबरी खेलेको थियो। त्यसपछि स्विडेनलाई ५-१ ले हराउँदै टोलीले उत्कृष्ट लय समात्यो भने अन्तिम खेलमा ट्युनिसियामाथि ३-१ को जित निकाल्दै शीर्ष स्थान सुरक्षित गर्यो। तीन खेलमा १० गोल गरेको डच टोलीका ब्रायन ब्रोबीले तीन गोल गरेका छन् भने क्रिसेन्सियो समरभिल र कोडी गाक्पोले समान दुई/दुई गोल गरेका छन्।
यता मोरक्कोले समूह चरणमा अपराजित यात्रा तय गरेको थियो। ब्राजिलसँग १-१ को बराबरी खेलेपछि स्कटल्यान्डलाई १-० ले पराजित गरेको मोरक्कोले अन्तिम खेलमा हाइटीलाई ४-२ ले हराउँदै समूह ‘सी’को उपविजेताका रूपमा नकआउट चरणमा स्थान बनाएको हो। इस्माइल साइबारीले तीन गोल गर्दै टोलीको आक्रमण सम्हालेका छन् भने ब्राहिम डियाजले दुई असिस्ट दिएका छन्।
नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले मोरक्कोसँगको खेल दुई बलिया टोलीबीचको प्रतिस्पर्धा भएकाले विश्वकपमा केही चाँडै हुन पुगेको प्रतिक्रिया दिएका छन्। उनका अनुसार दुवै टोली अझ टाढासम्म पुग्ने क्षमता राख्छन्, तर अब एउटाले यात्रा यहीं टुंग्याउनुपर्ने अवस्था आएको छ। उनले आफ्नो टोली आक्रामक शैलीमै खेल्ने पनि बताएका छन्।
मोरक्कोका प्रशिक्षक नाबिल ओआहबीले समूह चरणको प्रदर्शन अब इतिहास बनिसकेको भन्दै नकआउट खेलका लागि फरक मानसिकता आवश्यक हुने बताएका छन्। उनले टोलीले दबाब झेल्न र निर्णायक क्षणमा सही निर्णय लिनुपर्नेमा जोड दिएका छन्।
तथ्याङ्कका आधारमा हेर्दा नेदरल्यान्ड्स केही बलियो देखिएको छ। अप्टाको सुपरकम्प्युटरले डच टोलीको निर्धारित समयमा जित्ने सम्भावना ४५ प्रतिशत रहेको प्रक्षेपण गरेको छ भने मोरक्कोको सम्भावना २६ प्रतिशत रहेको छ। खेल अतिरिक्त समय वा पेनाल्टीमा जाने सम्भावना २९ प्रतिशत आँकलन गरिएको छ।
दुवै टोलीका कुनै पनि प्रमुख खेलाडी घाइते नरहेकाले प्रशिक्षकहरूले आफ्नो बलियो टोली मैदानमा उतार्ने अपेक्षा गरिएको छ। नेदरल्यान्ड्सले ४-३-३ र मोरक्कोले ४-२-३-१ को रणनीतिमा खेल्ने अनुमान गरिएको छ।