काठमाडौं। रुप्से होलिडेजले नेपालमा बसोबास गरिरहेका भारतीय नागरिकहरूको सिंगापुर भिसा आवेदनको आधिकारिक अनुमति पाएको छ। दिल्लीस्थित सिंगापुर उच्च आयोग (हाई कमिसन) ले सोमबार रुप्से होलिडेजलाई आधिकारिक भिसा एजेन्टको मान्यता प्रदान गरेको हो।
रुप्सेले आगामी दुई वर्षका लागि भिसा आवेदन दिने अधिकार पाएको हो।
दिल्लीस्थित सिंगापुर हाई कमिसनमा एक कार्यक्रमबिच आधिकारिक एजेन्टको सम्झौता भएको हो। रुप्से होलिडेजको तर्फबाट महाप्रबन्धक सरोज कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौतासँगै भिसा आवेदनका लागि भारत जानुपर्ने बाध्यता हटेको छ।
रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले भिसाका लागि अब भारत जानुपर्ने बाध्यता हटेको बताए। पराजुलीले भने, ‘सिंगापुर उच्च आयोगबाट प्राप्त यो आधिकारिक जिम्मेवारीप्रति हामी गौरवान्वित छौं। नेपालस्थित भारतीय समुदायलाई अब भिसाका लागि दिल्ली पुग्नुपर्ने झन्झटबाट मुक्ति दिलाउन पाउँदा हामी हर्षित छौं। हाम्रो अनुभवी टोलीले पूर्ण व्यावसायिकताका साथ छिटो र पारदर्शी भिसा सेवा उपलब्ध गराउनेछ।’
रुप्से होलिडेज आउटबाउण्ड टुर सञ्चालनका लागि नेपालमा परिचित ट्राभल एजेन्सी हो।