काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान)बीच नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउने समझदारी भएको छ।
दुई संस्थाले नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको गन्तव्यका रूपमा स्थापित गर्ने भन्दै सोमबार समझदारी गरेका हुन्।
समझदारी अनुसार इक्यानका सदस्य संस्था ले आइप्यानका सदस्य कलेज तथा शैक्षिक संस्थाहरूमा सञ्चालन हुने शैक्षिक कार्यक्रम, अध्ययनका अवसर, भर्ना प्रक्रिया, प्रवेश मापदण्ड, छात्रवृत्ति, करियर सम्भावना तथा अन्य शैक्षिक जानकारीमा प्रत्यक्ष पहुँच प्राप्त गर्नेछन्।
यसबाट विद्यार्थी तथा अभिभावकलाई अझ तथ्यपरक, अद्यावधिक तथा गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा छ। दुवै संस्थाले संस्थागत सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस अभियानमार्फत देशको उच्च शिक्षालाई विश्व समुदायमाझ प्रवर्धन गरी अन्तर्राष्ट्रिय विद्यार्थी, अनुसन्धानकर्ता तथा शैक्षिक साझेदारलाई नेपालसँग जोड्ने लक्ष्य राखिएको छ।
यो समझदारीले शैक्षिक परामर्शदाता संस्था र अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त उच्च शिक्षा संस्थाबीच दीर्घकालीन सहकार्य, समन्वय तथा पारस्परिक विश्वासलाई संस्थागत गर्ने विश्वास गरिएको छ।