BIZMANDU
www.bizmandu.com

माछापालक कृषकलाई बिजुलीमा सहुलियत दिने तयारी, औद्योगिकबाट सिंचाइ उपभोक्तामा राखिने

२०८३ असार १५

माछापालक कृषकलाई बिजुलीमा सहुलियत दिने तयारी, औद्योगिकबाट सिंचाइ उपभोक्तामा राखिने
माछापालक कृषकलाई बिजुलीमा सहुलियत दिने तयारी, औद्योगिकबाट सिंचाइ उपभोक्तामा राखिने

काठमाडौं। सरकारले व्यावसायिकरुपमा माछापालन गरिरहेका कृषकलाई विद्युत महसुलमा सहुलियत दिने भएको छ।

Tata
GBIME
Nepal Life

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले माछापालक किसानलाई बिजुलीमा सहुलियत दिने भएको हो।

प्राधिकरणले माछापालक कृषकलाई हालसम्म औद्योगिक ग्राहकमा राखेर बिलिङ गर्दै आएकामा अब सिंचाइ ग्राहकमा राखेर सहुलियत दिन लागेको छ। प्राधिकरणका सञ्चालक अंशुकिरण शाहीले माछापालनलाई प्रोत्साहन गर्नका लागि किसानलाई सहुलियत दिन लागेको बताए।

‘हाल थुप्रै किसान व्यावसायिक माछापालनमा संलग्न हुनुहुन्छ। तर उहाँहरुले बिजुलीको महसुल महँगो तिरिरहनुभएको छ। त्यसैले अध्ययन गरेर सहुलियत दिने प्रस्ताव ल्याउन मन्त्रीज्यूले एमडीलाई निर्देशन दिनुभएको छ,’ शाहीले भने, ‘प्राधिकरणले सहुलियत दिन माछापालक किसानलाई सिंचाइ उपभोक्तामा राख्न गृहकार्य गरिरहेको छ।’

राष्ट्रिय तथ्यांक कार्यालयको कृषि गणना २०७८ अनुसार नेपालमा माछापालन गर्ने कृषक परिवारको संख्या ४२ हजार छ। ती कृषक परिवारले १० हजार हेक्टर क्षेत्रफलमा ४९ हजार पोखरीमा माछापालन गर्दै आएका छन्।

प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले माछापालक कृषकलाई सहुलियत कसरी दिने भन्ने विषयमा अध्ययन गरिरहेको बताए।

‘माछापालक कृषकलाई कसरी सहुलियत दिन सकिन्छ भनेर अध्ययन गरिरहेका छौं। अध्ययनपछि सञ्चालक समितिबाट निर्णय गरेर कार्यान्वयन हुन्छ,’ उनले भने।

कति फरक पर्छ महसुल दर?

माछापालक किसानलाई औद्योगिकबाट सिंचाइ उपभोक्तामा राख्दा विद्युत महसुल उल्लेख्यरुपमा कम हुनेछ।

टाइम अफ डे(टीओडी) मिटर जडित उपभोक्ताको हकमा वैशाखदेखि मंसिरसम्म विद्युत महसुल दर औद्योगिकतर्फ साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रति युनिट १० रुपैयाँ, राति ११ बजेदेखि बिहान ५ बजेसम्म ४.६५ रुपैयाँ र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म ८.२० रुपैयाँ छ।

टीओडी मिटर जडान गरेका सिंचाइ उपभोक्ताका हकमा साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रति युनिट ६.३० रुपैयाँ, राति ११ बजेदेखि बिहान ५ बजेसम्म २ रुपैयाँ र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म ३ रुपैयाँ छ।

यस्तै पुसदेखि चैतसम्मको महसुल फरक छ। औद्योगिक उपभोक्तातर्फ साँझ ५ बजेदेखि राति ११ बजेसम्म १०.१० रुपैयाँ र राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म ८.४० रुपैयाँ तथा सिंचाइ उपभोक्तातर्फ साँझ ५ बजेदेखि राति ११ बजेसम्म ६.३० रुपैयाँ र राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म ३ रुपैयाँ छ।

त्यस्तै २३०/४०० भोल्टको मिटर जडित औद्योगिक उपभोक्ताका हकमा प्रति युनिट ७.८० रुपैयाँ र सिंचाइ उपभोक्ताका हकमा प्रति युनिट २.२५ रुपैयाँ छ।

माथिल्लो भोल्टेज जडित औद्योगिक उपभोक्ताका लागि प्रति युनिट ८.४० रुपैयाँ र सिंचाइका उपभोक्ताका लागि प्रति युनिट २.५० रुपैयाँ छ।