BIZMANDU
www.bizmandu.com

१०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनामा भौतिक निर्माणको काम सुरु

२०८३ असार १५

१०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनामा भौतिक निर्माणको काम सुरु
१०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनामा भौतिक निर्माणको काम सुरु

काठमाडौं। १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणको काम सुरु भएको छ।

Tata
GBIME
Nepal Life

जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले निर्माण व्यवसायीसँग सम्झौता भएसँगै भौतिक निर्माण अगाडि बढेको जानकारी दिए।

यो सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको मुलुककै नमुना आयोजना हो।

आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन, जग्गा अधिग्रहण, विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए), वित्तीय व्यवस्थापन, उत्पादन अनुमतिपत्र तथा उद्योग दर्तालगायत काम यसअघि नै भइसकेको छ।

आयोजनाले डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्‍याएको छ। ‘कम्पनीले आयोजना प्रवर्धन गर्ने क्रममा आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल निर्माण, त्रिवेणी-मुड्केचुला-जगदुल्ला सडक खण्डको कठिन भिरमा ट्र्याक खोल्ने तथा पहुँच मार्गमा १० वटा बेली ब्रिज जडान गर्ने काम सम्पन्न गरिसकेको छ,’ प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने।

ती संरचनाले आयोजना मात्र नभई स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुर्‍याएको छ। परियोजनाका कारण डोल्पाको यातायात सेवामा पनि उल्लेखनीय परिवर्तन भएको छ। केही वर्षअघिसम्म नेपालगञ्जबाट डोल्पा पुग्न तीन दिनसम्म लाग्ने गरेकामा अहिले एकै दिनमा यात्रा सम्भव भएको छ।

आयोजना निर्माणपश्चात् वार्षिक करिब १९ करोड ५० लाख संघ सरकार, नौ करोड ५० लाख प्रदेश सरकार र नौ करोड ५० लाख स्थानीय तहले रोयल्टी प्राप्त गर्नेछन्।

कम्पनीले हाल डोल्पाको जगदुल्ला तथा मुड्केचुला गाउँपालिका क्षेत्रमा दुईवटा अर्धजलाशययुक्त आयोजना विकास गरिरहेको छ।

कम्पनीले जगदुल्ला जलविद्युत् आयोजनाबाट १०६ र जगदुल्ला ए आयोजनाबाट १२४ मेगावाट गरी कुल २३० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

१२४ मेगावाट क्षमताको जगदुल्ला ए आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ। वातावरणीय अध्ययन, जग्गा अधिग्रहण, पीपीए, वित्तीय व्यवस्थापन तथा अनुमतिपत्रसम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणको परामर्शदाता कम्पनी एनईए इन्जिनियरिङमार्फत नेपाली इन्जिनियरले सर्भे, डिजाइन तथा लागत अनुमान तयार गरेको यो आयोजना सरकारी निकायको बहुमत सेयर स्वामित्वमा निर्माण हुनेछ।

कम्पनीमा सरकारी निकाय, कर्णाली प्रदेश सरकार र स्थानीय तहको संयुक्त ५१ प्रतिशत तथा सर्वसाधारणको ४९ प्रतिशत सेयर रहने व्यवस्था गरिएको छ। स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर सुरक्षित गरिएको छ।

प्रसारण लाइनको बाटोमा पर्ने जग्गाधनीलाई तीन प्रतिशत सेयर दिने भनिएको छ। जगदुल्ला जलविद्युत् आयोजनामा करिब १६ अर्ब ६६ करोड बराबरको ऋण लगानी स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ। रासस