BIZMANDU
www.bizmandu.com

मनकामना केवलकारमा अहिलेसम्मकै बढी भारतीय पर्यटक, जेठमा १ लाख ५ हजारले गरे यात्रा

२०८३ असार १५

मनकामना केवलकारमा अहिलेसम्मकै बढी भारतीय पर्यटक, जेठमा १ लाख ५ हजारले गरे यात्रा
मनकामना केवलकारमा अहिलेसम्मकै बढी भारतीय पर्यटक, जेठमा १ लाख ५ हजारले गरे यात्रा

काठमाडौं। मनकामना केवलकारमा जेठ महिनामै १ लाख ५ हजार भारतीय पर्यटकले यात्रा गरेका छन्। केवलकार स्थापना भएपछिको अहिलेसम्मकै बढी भारतीय पर्यटकले यात्रा गरेका हुन्।

Tata
GBIME
Nepal Life

‘यो वर्ष हाम्रो केवलकारमा यात्रा गर्ने भारतीय पर्यटक ऐतिहासिक भयो। यसअघि एकै महिनामा ८० हजार आएका थिए,’ केवलकारका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले बिजमाण्डूसँग भने, ‘आफैं गाडी लिएर आउनेको संख्या अत्यधिक छ।’

उनका अनुसार एकै दिन पाँच हजारसम्म भारतीय पर्यटक आएका थिए। श्रेष्ठले यो वर्ष साढे तीन लाखभन्दा बढी भारतीय पर्यटकले केवलकारमा यात्रा गर्ने देखिएको जानकारी दिए। जेठ महिनामा ४० हजार मात्रै नेपालीले यात्रा गरेका छन्।

मनकामना दर्शन गर्न आउने भारतीयको संख्या उल्लेख्य रहेको छ। तर, योपटक सीमावर्ती क्षेत्र विहार र उत्तर प्रदेशका भारतीयहरु आफ्नै गाडी लिएर आएका थिए।

‘अफसिजनका लागि भारतीय पर्यटकले ठूलो गुन लगाएका छन्। उनीहरुलाई अझै सहजीकरण गर्ने हो भने अरु बेलामा पनि दु:ख हुँदैन,’ उनले भने, ‘हामीले नाकामा पास लिएपछि सुरक्षा निकायदेखि जनतासम्मले राम्रो व्यवहार गरे हाम्रो हस्पिटालिटी क्षेत्रले अन्त व्यवसायका लागि दर्गुन पर्दैन।’

उनका अनुसार पर्यटन बोर्डले गर्मीका बेलामा सीमावर्ती क्षेत्रमा अभियान थालेमा अर्को वर्ष अझ ठूलो संख्यामा भारतीय नेपाल आउनेछन्।

‘गर्मीको समयमा नेपाल आउन प्रेरित गर्ने खालका अभियान थाल्नुपर्छ। सडकमार्ग भएर आउने पर्यटकलाई हाम्रा सवारी साधनका चालकदेखि सबैले राम्रो व्यवहार गरेमा हाम्रो पर्यटन क्षेत्र गुल्जार हुन्छ,’ श्रेष्ठले भने, ‘सरकारको ध्यान, समय र पैसा यूरोप र अमेरिकातिर होइन छिमेकी देशमा गरे पुग्छ।’