काठमाडौं। बाढी पहिरोका कारण नागढुंगा-मलेखु सडकमा यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्वाधार विकास मन्त्रालयले मनसुन पूर्वतयारी कार्ययोजना बनाएको छ।
यात्रुहरु लामो समयसम्म अलपत्र पर्ने स्थिति आउन नदिन भन्दै मन्त्रालयले कार्ययोजना बनाएको हो। विपद्का कारण अवरुद्ध हुने सडक न्यूनतम समयमा खुलाउने उद्देश्यसहित कार्ययोजना बनाएको मन्त्रालयका अधिकारीहरुले बताएका छन्।
कार्ययोजनाअनुसार आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको छ। उपकरण मर्मत र परिचालनको योजना बनाइनुका साथै आकस्मिक बजेटको व्यवस्था गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन्। उनीहरुका अनुसार मनसुन अवधिभर सडकको अवस्थाबारे नियमित सूचना संकलन गरिनेछ।
सडक अवरुद्ध भएको अवस्थामा तत्काल आवश्यक जनशक्ति र उपकरण परिचालन गर्ने व्यवस्था मिलाइएको छ। मन्त्रालयका अनुसार आवश्यक उपकरण र जनशक्तिको सूची सुरक्षा निकायलाई पनि उपलब्ध गराइएको छ।
विपद्का बेला साना तथा मध्यम पहिरो तत्काल हटाउने, सडक बगाएको अवस्थामा अस्थायी बाटो निर्माण गर्ने, सडक भासिएको वा दबिएको अवस्थामा खाल्डाखुल्डी पुरी टेवा पर्खाल निर्माण गर्ने, आवश्यक परे चट्टान फुटाएर सडक खुलाउने, वैकल्पिक बाटो निर्माण गर्ने, बेलीब्रिज जडान गर्ने तथा क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण गरी स्थायीरूपमा यातायात सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख छ।
९ स्थान उच्च पहिरो जोखिमयुक्त क्षेत्र
नागढुंगा-नौबिसे-मलेखु सडकखण्डका ९ स्थानलाई उच्च पहिरो जोखिमयुक्त क्षेत्रमा राखिएको छ। नागढुंगा-नौबिसे खण्डमा झ्याप्लेखोला, खतिपौवा र सिस्ने खोला तथा नौबिसे-मलेखु खण्डमा ४ किलो, ७ किलो, ९ किलो, १३ किलो (कोइरालेभिर), मछेडी खोला र घाटबेँसी क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्रमा राखिएको हो।
यो सडकमा पूर्वसावधानीका काम सम्पन्न गरिएको छ। झ्याप्लेखोलामा ढलानको स्थायित्व व्यवस्थापन, माटो अड्याउने एङ्कर, सूक्ष्म पाइलिङ तथा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रणको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
महेश खोला क्षेत्रमा चट्टान अड्याउने एङ्कर, टेवा पर्खाल, तटबन्ध तथा भराइको काम सम्पन्न भएको छ। चेनेज ७+६०० क्षेत्रमा पुनर्स्थापना, टेवा पर्खाल तथा जैविक संरक्षणको काम सकिएको छ। चेनेज १३+१०० क्षेत्रमा पहिरो व्यवस्थापनको काम जारी रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार चेनेज १९+००० देखि १९+५०० र ३५+५०० क्षेत्रमा टेवा पर्खाल तथा चेनेज ४२+८५० क्षेत्रमा ढुङ्गा भरिएका जालीदार पर्खाल निर्माणको काम सम्पन्न भएको छ।
जैविक भू-संरक्षण अन्तर्गत नागढुंगा-नौबिसे र नौबिसे-मलेखु खण्डका विभिन्न स्थानमा जुटको जाली बिछ्याउने, बाँसको संरचना निर्माण गर्ने, घाँस रोप्ने, ढुङ्गा बिछ्याउने, पानी निकासको व्यवस्था गर्ने तथा घाँसको बीउ छर्ने लगायत काम गरिएको छ।
वैकल्पिक सडक
बाढी पहिरो आइ राजमार्ग बन्द भएको अवस्थामा मन्त्रालयले वैकल्पिक राजमार्ग प्रयोग गर्न पनि सुझाएको छ। मन्त्रालयले अनुसार नागढुंगा-नौबिसे, नौबिसे-गल्छी वा गल्छी-मलेखु सडकखण्ड लामो समय अवरुद्ध भए साना तथा मध्यम सवारीसाधनका लागि वैकल्पिक मार्ग तोकिएको छ।
काठमाडौं-सीतापाइला-रामकोट-धाके-गल्छी-मलेखु-मुग्लिङ, काठमाडौं-टोखा-त्रिशूली-गल्छी-मलेखु, काठमाडौं-टिकाभैरव-भट्टेडाँडा-हेटौंडा (कान्ति लोकपथ), दक्षिणकाली-छैमले-कुलेखानी-हेटौंडा तथा बीपी राजमार्ग हुँदै सिन्धुली-बर्दिबास जाने मार्ग प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ।
गल्छी-मलेखु सडक बन्द भए त्रिशूली नदीपारिका स्थानीय सडक तथा पुल प्रयोग गरी सीमित आवागमन सञ्चालन गर्ने कार्ययोजनामा समेटिएको छ।