काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ मा आज एसियाली फुटबलको महाशक्ति जापान र पाँच पटकको विश्वविजेता ब्राजिल आमनेसामने हुँदैछन्। अमेरिकाको ह्युस्टन स्टेडियममा हुने यो बहुप्रतीक्षित खेल नेपाली समयअनुसार बेलुकी पौने ११ बजे सुरु हुनेछ।
विश्व फुटबलका दुई फरक शैली बोकेका टोलीबीचको यो भिडन्तलाई प्रतियोगिताकै आकर्षक खेलमध्ये एकका रूपमा हेरिएको छ। अनुभव र इतिहासका हिसाबले ब्राजिल बलियो देखिए पनि जापानले यस विश्वकपमा देखाएको ‘टिम गेम’ले थप रोमाञ्चक बनाएको छ।
विश्वकपमा यी दुई टोलीको पछिल्लो भेट सन् २००६ मा जर्मनीमा भएको थियो। त्यसबेला ब्राजिलले जापानलाई ४-१ गोलले पराजित गरेको थियो। तर, अहिलेको जापान पहिलेभन्दा धेरै परिपक्व र आत्मविश्वासी देखिएको छ।
नेदरल्याण्ड्स जस्तो शक्तिशाली टोलीलाई २-२ गोलको बराबरीमा रोकेको जापानले ट्युनिसियालाई ४-० गोलले हराउँदै विश्वकपमा एसियाली राष्ट्रको सबैभन्दा फराकिलो जितको कीर्तिमान बनायो। त्यस्तै, युरोपली बलियो टोली स्वीडेनलाई पनि बराबरीमा रोक्यो।
अर्कातर्फ ब्राजिल विश्वकपको सदाबहार टोली हो। समूह चरणमा मोरोक्कोसँग बराबरी खेलेको उसले हाइटी र स्कटल्याण्डमाथि प्रभावशाली जित निकाल्यो।
त्यसो भए ब्राजिलले जापानलाई सधैं डोमिनेट गर्दै आएको छ? पक्कै होइन। यसअघिको भेटमा जापानले ब्राजिललाई हराएको थियो। जापानले ब्राजिललाई ३-२ गोलले हराएको एक वर्ष पनि बितेको छैन।
पछिल्लो खेलको नतिजाले ब्राजिललाई दबाब पनि हुनसक्छ। नवनियुक्त प्रशिक्षक कार्लो एन्सेलोट्टीका लागि यो विश्वकपको पहिलो नकआउट परीक्षा हुनेछ।
ब्राजिलको अग्रपंक्तिमा रियल मड्रिडका स्टार भिनिसियस जुनियर उत्कृष्ट लयमा छन्। उनले समूह चरणका तीन खेलमा चार गोल गरेका छन्। म्याथियस कुञ्हाले तीन गोल गरेका छन्। ब्रुनो गिमारेसले तीन असिस्ट दिएका छन्। अघिल्लो खेलबाट नेइमार पनि टिममा फर्किएका छन्।
एन्सेलोट्टीले जापानलाई विश्वकै उत्कृष्ट टोली भन्दै नकआउट खेलमा कुनै पनि परिस्थिति आउन सक्ने भएकाले मानसिक रूपमा तयार रहनुपर्ने बताएका छन् । उनका अनुसार टोली आत्मविश्वासी अवस्थामा छ।
अर्कातर्फ जापानको लय लोभलाग्दो छ। उसका लागि आयासे उएडा र डाइची कामाडाले समान दुई गोल गरेका छन्। जुन्या इटो, केइतो नाकामुरा र डाइजेन माएडाले एक-एक गोल गरेका छन्।
प्रशिक्षक हाजिमे मोरियासुले टोलीको एकता नै सबैभन्दा ठूलो बल भएको बताएका छन्। उनले सबै खेलाडी टोलीका लागि योगदान दिन तयार रहेको र त्यो भावना झन् बलियो बन्दै गएको उल्लेख गरेका छन्।
विश्वकप इतिहासमा चार पटक अन्तिम १६ सम्म पुगेको जापान ब्राजिललाई हराउने दाउमा छ।
दुवै टोलीबीच हालसम्म १४ खेल भएकामा ब्राजिलले ११ खेल जित्दा दुई खेल बराबरी भएको छ। जापानले एक खेल जितेको छ। जापानले २०२५ अक्टोबरमा मैत्रीपूर्ण खेलमा ब्राजिलविरुद्ध ३-२ को सनसनीपूर्ण जित निकालेको थियो।
सोमबार रातिको खेलमा ब्राजिलका राफिन्हा ह्यामस्ट्रिङ चोटका कारण अनुपस्थित रहनेछन् भने जापानका ताकेफुसा कुबोले घुँडाको चोटका कारण खेल्ने छैनन्।
यस खेलको विजेताले प्रिक्वार्टरफाइनलमा नर्वे र आइभरी कोस्टबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।