BIZMANDU
www.bizmandu.com

अफसिजनमै काठमाडौंका होटल पर्यटकले भरिभराउ, भारतीयहरु ओइरिएपछि अकुपेन्सी ९०% सम्म

२०८३ असार १५

अफसिजनमै काठमाडौंका होटल पर्यटकले भरिभराउ, भारतीयहरु ओइरिएपछि अकुपेन्सी ९०% सम्म
अफसिजनमै काठमाडौंका होटल पर्यटकले भरिभराउ, भारतीयहरु ओइरिएपछि अकुपेन्सी ९०% सम्म

काठमाडौं। अफसिजन मानिने समयमा काठमाडौंका पाँचतारे होटल भारतीय पर्यटकले भरिभराउ भएका छन्। भारतीय पर्यटकका कारण पाँचतारे होटलमा अकुपेन्सी ९० प्रतिशतसम्म पुगेको छ।

Tata
GBIME
Nepal Life

सामान्यतया जुन महिनाको मध्यदेखि पर्यटन क्षेत्रमा अफसिजन सुरु हुने गरेकोमा तारे होटललाई यतिखेर भारतीय पर्यटकका कारण भ्याइनभ्याइ भएको छ। गर्मी छल्नका लागि भारतीय पर्यटक काठमाडौंमा ओइरिएका हुन्।

विगतका वर्षमा यतिखेर होटलमा अकुपेन्सी ५० प्रतिशत हाराहारीमा हुन्थ्यो। अफसिजन भएका कारण अहिले चीन, युरोपेली मुलुक, अमेरिका लगायत देशका पर्यटक घटेका छन्। तर, खासगरी काठमाडौं र पोखराका होटलको व्यापार भारतीय पर्यटकका कारण बुम भएको छ।

अलोफ्ट काठमाडौंका महाप्रबन्धक बिक्रम सिंहले होटलमा अहिले ९० प्रतिशत अकुपेन्सी रहेको बताए।

‘हाम्रोमा अहिले ९० प्रतिशत अकुपेन्सी छ। होटलमा रहेका पाहुनामध्ये अधिकांश भारतीय हुनुहुन्छ,’ सिंहले भने, ‘हामीले बजारीकरणका लागि बनाएको प्लानले काम गरेको छ। उता धेरै गर्मी भएको र कनेक्टिभिटी राम्रो भएका कारण पनि भारतीय पयर्टक धेरै आएका हुन्। हामीले भारतीय पर्यटकलाई आफ्नै घरमा जस्तो महसुस गराउने सेवा दिइरहेका छौं।’

अलोफ्ट काठमाडौंले भारतीय पर्यटक भित्र्याउन व्यापार मेलाहरूमा सक्रिय रूपमा सहभागिता जनाउँदै आएको छ।

‘हामीले भारतीय ट्राभल एजेन्ट, टुर अपरेटर र कर्पोरेट ग्राहकसँग सीधा जोडिने कार्यक्रममा सहभागिता जनाउँदै आएका कारण पनि अहिले अफ सिजनमा समेत भ्याइ नभइको अवस्था बनेको हो,’ सिंहले भने, ‘अहिले अरु देशका पर्यटक फाट्टफुट्ट मात्र भए पनि हामीलाई असर परेको छैन।’

यसपालिको मे महिनामा १ लाख २ हजार पर्यटक हवाई मार्ग हुँदै नेपाल आएकामा तीमध्ये ४० हजार ७८२ जना भारतीय हुन्। पोहोर मेको तुलनामा यसपालि मेमा पर्यटकको संख्या १९ प्रतिशतले बढ्दा भारतीयहरूको संख्या करिब ४५ प्रतिशतले बढेको तथ्यांक छ। जुन महिनामा अझ धेरै भारतीय पर्यटक आएको अनुमान छ। त्यसको यकिन तथ्यांक सार्वजनिक हुन बाँकी छ।

सडक मार्गबाट पनि भारतीय पर्यटक ठूलो संख्यामा भित्रिरहेका छन्। तर, सडक मार्गबाट भित्रिएका पर्यटकको रेकर्ड राख्ने गरिएको छैन।

बुढानीलकण्ठस्थित लेमन ट्रि होटलमा पनि अकुपेन्सी ८० प्रतिशत छ। होटलका संचालक बाबुकाजी कार्कीले पोहोर जुन महिनामा अकुपेन्सी ५१ प्रतिशत रहेकामा अहिले भारतीय पर्यटकका कारण अफसिजन लाग्यो भन्नु नपरेको बताए।

‘हाम्रो होटलमा अहिले अधिकांश भारतीय पर्यटक हुनुहुन्छ। उहाँहरूमध्ये कतिपय गर्मी छल्नका लागि आउनु भएको हो भने कतिपय मानसरोवर यात्रामा जानेहरू हुनुहुन्छ,’ कार्कीले भने।

क्षेत्रीय होटल संघ काठमाडौंका महासचिव साजन शाक्यका अनुसार अहिले काठमाडौंका तारे होटलमा रहेका पर्यटकमध्ये ८० प्रतिशत भारतीय हुन्।

सोल्टी होटलमा पनि अकुपेन्सी ७० प्रतिशतबाट घटेको छैन। सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाइँले आफ्नो होटलमा अमेरिकी र भारतीय पर्यटकको संख्या धेरै रहेको बताए।

‘अहिले अफसिजनको समय हो। तर, अकुपेन्सी ७० प्रतिशतभन्दा बढी नै छ,’ चापागाइँले भने।

भारतीय पर्यटकका कारण पोखरा पनि गुल्जार छ। जुन महिनामा त्यहाँका होटलमा पनि अकुपेन्सी ९० प्रतिशतसम्म पुगेको छ।

क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले यसपालि पोखरामा भारतीय पर्यटक ठूलो संख्यामा भित्रिएकाले होटलले अफसिजनको अनुभव गर्नु नपरेको बताए।

‘मे र जुन दुवै महिनामा होटलमा अकुपेन्सी ९० प्रतिशतसम्म पुग्यो। ट्रेकिङ सिजन अफ भएका कारण पछिल्लो समय अरु देशका पर्यटक कम हुँदै गएका छन्। तर, भारतीय पर्यटकले गर्दा हामीले कामविहीन हुनुपरेको छैन। अहिले पनि ६० प्रतिशतभन्दा बढी अकुपेन्सी छ। होटलमा रहेका पर्यटकमध्ये २५ प्रतिशतभन्दा बढी भारतीय हुन्,’ उनले भने, ‘पोहोर यतिखेर भारतीय पर्यटक अहिलेजस्तो थिएनन्। यसपालि नसोचेको फ्लो भयो।’

काठमाडौं र पोखराका होटललाई भारतीय पर्यटकले चलायमान बनाउँदा भैरहवाका होटललाई भने अफसिजन लागेको छ। यहाँका होटलमा अहिले अकुपेन्सी ३० प्रतिशत मात्र छ।

क्षेत्रीय होटल संघ भैरहवाका अध्यक्ष सीपी श्रेष्ठले गर्मीका कारण होटलमा अकुपेन्सी घटिरहेको बताए।

‘भैरहवामा अहिले निकै गर्मी छ। त्यसैले हामीकहाँ काठमाडौं र पोखरामा जस्तो पर्यटक छैनन्। अकुपेन्सी घटेर ३० प्रतिशत हाराहारीमा मात्र छ,’ उनले भने।

मौसम अनुकूल हुँदा भैरहवाका होटल पनि भारतीय पर्यटकले नै भरिने गरेका छन्।