काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अढाइ महिनापछि नयाँ नेतृत्व पाएको छ। सेबोनका नवनियुक्त अध्यक्ष डा. गोपाल भट्टले सोमबार जिम्मेवारी सम्हालेका छन्।
भट्टले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसामु पद तथा गोपनीयताको शपथ लिएपछि सेबोन अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। मन्त्रिपरिषद्को असार ५ गतेको बैठकले भट्टलाई सेबोन अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो।
सेबोनका यसअघिका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले गत वैशाख ४ गते राजीनामा दिएका थिए।

भट्टले पदबहालीका क्रममा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी सचेतना कार्यक्रम गर्ने निर्णय गरेका छन्।