BIZMANDU
www.bizmandu.com

साउदी अरबको तेल केन्द्र नजिक हेलिकोप्टर दुर्घटना, आराम्कोका १४ जनाको मृत्यु

२०८३ असार १५

साउदी अरबको तेल केन्द्र नजिक हेलिकोप्टर दुर्घटना, आराम्कोका १४ जनाको मृत्यु
साउदी अरबको तेल केन्द्र नजिक हेलिकोप्टर दुर्घटना, आराम्कोका १४ जनाको मृत्यु

साउदी अरबको पूर्वी तटीय सहर रस तनुरामा साउदी आराम्को कम्पनीको हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै १४ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार आइतबार बिहान करिब ६ बजे दुर्घटना भएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ। मृतक सबै साउदी नागरिक छन्।

Tata
GBIME
Nepal Life

समाचार संस्था अरब न्युजका अनुसार दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन। घटनाबारे सम्बन्धित निकायहरूले विस्तृत अनुसन्धान सुरु गरिसकेका छन्। साउदी ऊर्जा मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै दुर्घटनाको वास्तविक कारण पत्ता लगाइने जनाएको छ।

दुर्घटना भएको रस तनुरा साउदी अरबको सबैभन्दा महत्त्वपूर्ण तेल प्रशोधन तथा निर्यात केन्द्रमध्ये एक हो। यहाँ विश्वकै ठूलो तेल लोडिङ टर्मिनल र तेल प्रशोधनका प्रमुख पूर्वाधार छन्।

एपी न्युजका अनुसार हालसम्म सार्वजनिक भएका आधिकारिक विवरणअनुसार दुर्घटनामा कुनै बाह्य आक्रमण वा सुरक्षासम्बन्धी घटनाको संकेत भेटिएको छैन। यद्यपि, दुर्घटना त्यस्तो समयमा भएको छ जब मध्यपूर्व क्षेत्रमा अमेरिका–इरान तनाव र तेल आपूर्ति सम्बन्धी अनिश्चितता बढिरहेको छ। आराम्कोले हालै हर्मुज स्ट्रेटमा उत्पन्न अवरोधका कारण केही तेल निर्यात पाइपलाइनमार्फत सारेर आपूर्ति व्यवस्थापन गरिरहेको जनाएको थियो।

सोमबारसम्म प्राप्त पछिल्लो जानकारीअनुसार दुर्घटनाको कारणबारे कुनै आधिकारिक निष्कर्ष सार्वजनिक गरिएको छैन र अनुसन्धान जारी रहेको रोयटर्सको समाचारमा उल्लेख छ।