काठमाडौं। चालु आर्थिक वर्ष समग्र बैंकिङ क्षेत्रको कर्जा विस्तार सुस्त रहेकामा आधा दर्जन वाणिज्य बैंक भने दोहोरो अंकको वृद्धिदर कायम गर्न सफल भएका छन्।
सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न राष्ट्र बैंकले १२ प्रतिशतले कर्जा विस्तारको प्रक्षेपण गरेकामा चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकको औसत कर्जा विस्तार ५.८१ प्रतिशतमा सीमित रहँदा ६ वटाले भने आक्रामक रुपमा दोहोरो अंकको वृद्धिदर कायम गरेका हुन्।
माछापुच्छ्रे, एभरेष्ट, नबिल, लक्ष्मी सनराइज, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकले बजारमा शिथिलताकै बीच कर्जा प्रवाहलाई तीव्रता दिएका छन्।
माछापुच्छ्रेले १७.१६, एभरेष्टले १३.६९, लक्ष्मी सनराइजले १०.६५, नबिलले १०.२७, राष्ट्रिय वाणिज्य बैंकले १०.४२ र ग्लोबल आइएमई बैंकले ७.६८ प्रतिशतले कर्जा बढाएका छन्।
चालु आर्थिक वर्ष ११ महिनामा वाणिज्य बैंकहरूले कुल कर्जा लगानी करिब २ खर्ब ८८ अर्ब रुपैयाँले विस्तार गर्दा त्यसमा झन्डै ८० प्रतिशत हिस्सा आधा दर्जन बैंकको छ।
वृद्धिदरका आधारमा माछापुच्छ्रे बैंक पहिलो नम्बरमा रहँदा सबैभन्दा धेरै कर्जा रकम बढाउनेमा नबिल बैंक छ। नबिलले ११ महिनामा ४४ अर्ब ५२ करोड कर्जा लगानी गरेको छ।
६ बैंकले व्यवसाय विस्तारका लागि बैंकहरूले ब्याजदरमा प्रतिस्पर्धा, ग्राहक सेवामा सुधार, पुराना ग्राहकलाई थप सुविधा र उत्पादन केन्द्रित कर्जा रणनीति अपनाएका छन्।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला पछिल्ला केही वर्ष पुँजी सीमितताका कारण बैंकले आक्रामक रूपमा कर्जा विस्तार गर्न नसकेकामा अविमोच्च असञ्चिति अग्राधिकार सेयरमार्फत पुँजी सहज भएपछि लगानी बढाएको बताउँछन्।
उनका अनुसार पछिल्लो अवधिमा बैंकले विशेषगरी कर्पोरेट कर्जा, सेयर कर्जा र जलविद्युत् क्षेत्रमा लगानी विस्तार गरेको छ। ‘झन्डै पाँच अर्ब रुपैयाँ सेयर कर्जामा लगानी बढाएका छौं। केही कर्पोरेट कर्जा पनि विस्तार भएको छ। हाइड्रो परियोजनामा समेत कर्जा लगानी भएको छ,’ कोइरालाले भने।
उनका अनुसार नयाँ ग्राहकभन्दा पनि पुराना ग्राहकलाई आवश्यकता अनुसार थप सीमा उपलब्ध गराउँदा कर्जा विस्तारमा सहयोग पुगेको छ। साथै, पछिल्लो समय बैंकले केही नयाँ क्षेत्रमा पनि लगानी विस्तार गरेको छ।
माछापुच्छ्रे बैंकले ११ महिनामा २५ अर्ब २४ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वृद्धि ३.८५ प्रतिशतमा सीमित हुने प्रारम्भिक अनुमान गरेको छ। आर्थिक गतिविधिमा अपेक्षित सुधार नआउँदा कर्जाको माग कमजोर बनेको अवस्थामा पनि केही बैंकहरूले आफ्नो व्यवसाय विस्तारलाई तीव्र बनाएका छन्।
११ महिनामा एभरेष्ट बैंकले कर्जा १३.६९ प्रतिशतले बढाएको छ। पोहोर असारसम्म एभरेष्ट बैंकले कुल २ खर्ब २३ अर्ब ६६ करोड कर्जा गरेकोमा जेठ मसान्तसम्म आइपुग्दा थप ३० अर्ब ६३ करोड विस्तार गरेको छ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नयाँ कर्जाभन्दा पनि पहिलेको कमिटमेन्टका कारण विस्तार भएको देखिएको बताए। ‘नयाँ डिमान्ड आएर ग्रोथ राम्रो भएको होइन, केही कमिटमेन्ट कर्जा हो भने केही अन्य बैंकबाट आएको हो,’ उनले बिजमाण्डूसँग भने।
उनका अनुसार बैंकको विपन्न वर्ग कर्जाको हिस्सा तुलनात्मक रूपमा बढी भएकाले अन्य क्षेत्रमा कर्जा विस्तार गर्न सहज भएको छ। ‘अन्य क्षेत्रमा कर्जा बढेसँगै विपन्न वर्ग कर्जाको सीमा पुर्याउनुपर्ने हुन्छ। हामीसँग त्यो हिस्सा पहिले नै राम्रो भएकाले पनि अन्य क्षेत्रमा विस्तार गर्न सहयोग पुगेको छ,’ उनले भने।
११ महिनामा धेरै कर्जा प्रवाह गरेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकले सेवा गुणस्तर र मार्केटिङ रणनीतिमार्फत व्यवसाय बढाएको बताउँछन्।
‘हामीले प्रतिस्पर्धी सेवा र मार्केटिङमार्फत ग्राहकलाई प्रोत्साहन गरेका छौं। व्यवसाय बढाउन कुनै सम्झौता गरेका छैनौं,’ ज्ञवालीले भने, ‘एनपीएल ग्रोथ कम राखेर सीडी रेसियो अप्टिमाइज गरी सेवा र मार्केटिङमार्फत व्यवसाय बढाएका हौं।’
बैंकले पछिल्लो एक वर्षमा स्प्रेड दरलाई ०.४३ प्रतिशत छोटो मार्जिनभित्र राखेर कर्जा बढाएको उनको भनाई छ।
पुँजीको दवाबमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ११ महिनामा ३२ अर्ब १८ करोड रुपैयाँ कर्जा बढाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल देशभर राम्रो नेटवर्क भएकाले साना तथा मझौला कर्जा उच्च दरले बढाएको बताउँछन्।
‘एसएमई कर्जा प्रवाह राम्रो छ। साथै, हाम्रो कष्ट अफ फण्ड कम भएकाले केही ठूला कर्जा पनि गए,’ उनले भने,’ बीचमा अन्योल हुँदा पूर्वाधार क्षेत्रमा कर्जाको युटिलाइज भएको छ।’
बैंकले सेयरमा पनि लगानी विस्तार गरेको छ। साथै, चालु आर्थिक वर्ष बैंकले थप शाखा विस्तार गरी आफ्नो नेटवर्क बढाएको छ।
ग्लोबल आइएमई बैंकले ११ महिनामा ३३ अर्ब ८३ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले क्षमताअनुसार कर्जा वृद्धि गर्न नसकेको बताए।
‘एसएमई, हाइड्रोपावर र होटल क्षेत्रमा लगानीलाई प्राथमिकता दिएका छौं। तर बजारमा कर्जाको माग अझै अपेक्षाअनुसार बढ्न सकेको छैन,’ उनले भने, ‘हामीले क्षमता अनुसार लगानी बढाउन सकेका छैनौं।’ पछिल्लो समय बैंकले उपभोग, गैरखाद्य उत्पादन, कृषि र जलविद्युत् क्षेत्रमा लगानी बढाएको छ।
बैंकिङ प्रणालीमा अहिले लगानीयोग्य रकम पर्याप्त छ। वाणिज्य बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७२ प्रतिशत छ। यसले केही बैंकले कर्जा विस्तार तीव्र बनाए पनि अधिकांशले व्यवसाय बढाउन नसकेको प्रष्ट हुन्छ।