BIZMANDU
www.bizmandu.com

कम्युनिस्ट पार्टीबीच दीर्घकालीन एकता गर्नुपर्ने चार पूर्वप्रमको उद्घोष, कार्यकर्ता बने उत्साहित

२०८३ असार १४

कम्युनिस्ट पार्टीबीच दीर्घकालीन एकता गर्नुपर्ने चार पूर्वप्रमको उद्घोष, कार्यकर्ता बने उत्साहित
कम्युनिस्ट पार्टीबीच दीर्घकालीन एकता गर्नुपर्ने चार पूर्वप्रमको उद्घोष, कार्यकर्ता बने उत्साहित

काठमाडौं। चार जना पूर्वप्रधानमन्त्रीले कम्युनिस्ट पार्टीको दीर्घकालीन एकता गर्नुपर्ने उद्घोष गरेका छन्।

Tata
GBIME
Nepal Life

मदन भण्डारीको ७५ औं जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका नेता तथा पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल र झलनाथ खनालले कम्युनिस्ट एकताको आह्वान गरेका हुन्।

चारै नेताहरूलाई पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले एउटै मञ्चमा उपस्थित गराएकी थिइन्। २०७४ को नेकपाको फुटपछि चारै नेता एउटै मञ्चमा देखिएका थिएनन्।

‘वामपन्थी एकता गरौं। आज बाध्यताले एकता भएका छौं। सबै कमरेडहरूलाई म आग्रह गर्न चाहन्छु, आजका दिनबाट दीर्घकालीन एकता गरौं,’ चार जनामध्ये सुरुमा सम्बोधन गरेका खनालको आह्वन थियो।

एकता भनेका बेलामा कार्यकर्ता तथा हलमा भएका नेताहरूले चर्को हुटिङ गरेका थिए। कार्यकर्ताहरूमा कम्युनिस्ट एकताको भावना देखिन्छ।

खनालले कार्यकर्ताको मनोभावना अनुकूल नेकपा र एमालेलाई मिलाएर एउटै पार्टी बनाउनुपर्ने प्रस्ताव गरे। उनले मन मिलेर मात्रै नभइ विचारमै एकता गर्न सुझाव दिए।

‘मन मात्रै होइन दृष्टिकोण पनि मिलाउँ। एउटाको नाम सुन्दा अर्कोले कुल्ला गर्नुपर्ने, हामीले यो इतिहासलाई आजका दिनबाट अन्त्य गरौं। एउटा देशमा एउटा कम्युनिस्ट मात्र हुन्छ। हतार गर्नुपर्ने केही पनि छैन, बिस्तारै-बिस्तारै गरौं,’ खनालको भनाइ छ। 

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्री बालेन्द्र शाहको लहर आउनुको कारण कम्युनिस्ट फुट भएको तर्क गरे।

‘१०० सिट वामपन्थीको हुन्थ्यो। देशको परिस्थिति बेग्लै हुन्थ्यो। हामी इतिहास र जनताले माग गरेका कुरा अनुरुप अघि बढ्न सक्यौंं कि सकेनौं?’ खनालले प्रश्न गरे।

नेपालले खनालको प्रस्तावमा सोझै समर्थन जनाएनन्। उनी एकताको विपक्षमा पनि उभिएनन्। नेपालले नेताहरूको प्रवृति सच्याएर मात्रै एकता गर्नुपर्ने प्रस्ताव राखे।

‘सबैले आत्म समीक्षा गरौं। विचारले भएको हो? सिद्धान्तले भएको हो? या मै हुँ भन्ने प्रवृतिले भएको हो। हामीले यो समाजलाई बुझ्न सकेनौं। जनतासँग हामी मिसिन सकेनौं। हामीले के-के विकृति ल्यायौं? यसको आत्मसमीक्षा गरौं। सबै कम्युनिस्ट पार्टीले आफ्नो पार्टीभित्र आत्म चिन्तन गरौं। नभए भावनाको कुरा मात्रै गरेर हुँदैन। कुराले चिउरा भिज्नेवाला छैन,’ उनले भने।

उनले विचार र सिद्धान्त मिलाएर एकता गर्नुपर्ने बताए। अहिले एकता भइसकेको चर्चा भने गलत भएको उनले बताए।

‘मन विचार र भावना मिल्यो भने एकता गर्दै जाने हो। आज मिल्यो भोलि फुट्यो। सिद्धान्त निष्ठ हुनुपर्छ। विधि पद्धतिमा पनि दह्रो हुनुपर्छ। संगठनको नियम कतिको पालना गर्छौं,’ उनले भनेका छन्।

प्रचण्डले पनि खनालको जस्तै एकतामा जोड दिएका छन्। उनले २०७४ को चुनाव अघि भएको एमाले-माओवादी एकताको चर्चा गरे।

‘हामीले त्यतिबेला पार्टी एकता गर्दा मदन भण्डारीले खेलेको भूमिकाबारे पनि समीक्षा गरेका छौं। उहाँले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन ढलेकाबेला नेपालको आन्दोलनलाई जीवन्त राख्न त्यतिबेला जबज कार्यक्रम प्रस्तुत गरिएको हो। यसको महत्त्व त्यसैमा छ भन्नेमा हामीले दस्तावेजीकरण गरिएको हो,’ प्रचण्डले भने।

प्रचण्डले ओलीलाई पार्टी एकता भत्किएपछि भएका कमजोरीलाई सच्याएर जानुपर्ने सन्देश दिए।

‘हामीले जे भन्यौं त्यही सत्य हो भन्न थाल्यौं भने मार्क्सवादमा विकास भएको ठहर्दैन। पुँजीवादी जनवादी क्रान्ति मुलभुत रुपमा सम्पन्न भयो। आन्दोलन नयाँ चरणमा प्रवेश गर्‍यो भन्ने हामीले संलेष्ण गरेका छौं,’ उनले भने।

प्रचण्डले छिट्टै एकता गर्नुपर्ने र त्यसमा ढिला गरे ठूलो दुर्घटना हुने चेतावनी दिए।

‘यो परिस्थितिमा ढिलो नगरीकन छिटोभन्दा छिटो वामपन्थी एकता गर्नुपर्छ। मैले पनि भोलि नै एकता गरौं भनेको होइन। सहकार्य गरौं संसद्‍मा गरौं सडकमा गरौं। जति ढिलो गर्‍यो दुर्घटना त्यति ठूलो हुनेवाला छ,’ उनले भने।

प्रचण्डले अहिलेको राजनितिक परिस्थिति अनुसार बदलिन तयार रहन कम्युनिस्ट नेताहरूलाई प्रस्ताव गरेका छन्। उनले क्रमभंग अनिवार्य भएको बताए।

‘मैले क्रमभंग भन्यो भने फेरि के उत्पात हुने भयो भन्छन्। यो त प्रकृतिको नियम हो। क्रमभंग त गर्नैपर्छ। अहिले पनि नयाँ जनवाद भनिएको छ, अहिले परिस्थिति फेरिएको छ हामी पनि फेरिनुपर्छ,’ उनले भने।

एमालेका अध्यक्ष ओलीले वाम एकता तथा कम्युनिस्ट आन्दोलनमा भएको मतभेदको चर्चा गरे। उनले समयानुकूल चल्नुपर्ने विचार राखे। अहिले कम्युनिस्ट पार्टीहरू खतरमा परेको ओलीको भनाइ छ।

‘आज हामी यतिखेर समाजवाद कताबाट निर्माण गर्ने? यतिबेला प्रतिगमन गर्ने काम मुख्य हो। पराजित गर्नै पर्छ सम्पूर्ण लोकतान्त्रिक शक्ति मिल्नै पर्छ। कम्युनिस्ट एकता गर्नुपर्छ,’ ओलीले भने।

ओलीले पनि एकताको चर्चा गरेका बेला कार्यकर्ताहरूले चर्कोसँग हुटिङ गरे। अहिले संसार भर लोकप्रियतावाद चलिरहेको उनले टिप्पणी गरे।

‘असल कामको चर्चा नगर्ने कसैले असल कामको चर्चा गर्‍यो भने त्यसको बदनाम गर्ने काम भएको छ। एमालेका नीतिहरू सही छन्,’ उनले भने।

प्रचण्ड, नेपाल र खनालले कम्युनिस्ट नेतृत्वहरूको प्रवृतिको समीक्षा गर्नुपर्ने प्रस्ताव गरे पनि ओलीले आफूले अघि बढाएको नीति सबै ठिक भएको बताए।

‘नेपाली जनतालाई सुखी बनाउनु छ। समृद्धिले मात्रै सुख हुँदैन, यति सुरक्षा छैन भने,’ उनले भने।

अब व्यवहारिक रुपमा परिर्वतन गर्न लाग्नुपर्ने ओलीले बताए।