काठमाडौं। टीभीएस मोटरले नेपालमा नयाँ टीभीएस अपाचे आरटीआर १६० ४भी सार्वजनिक गरेको छ। कम्पनीले यसलाई नेपालमा उपलब्ध आफ्नो सेग्मेन्टकै सबैभन्दा शक्तिशाली मोटरसाइकलका रूपमा प्रस्तुत गरेको छ।
काठमाडौंको सतुंगलमा आयोजित विशेष कार्यक्रममा नयाँ मोडल सार्वजनिक गरिएको हो।
कार्यक्रममा सञ्चारकर्मी, अटोमोबाइल समीक्षक, इन्फ्लुएन्सर तथा बाइक पारखीहरूको उल्लेख्य उपस्थिति थियो। सहभागीहरूका लागि विशेष राइडिङ सेसन र डेडिकेटेड ट्र्याक राइडको समेत व्यवस्था गरिएको थियो।
टीभीएस अपाचे ब्रान्डले विगत २ दशकदेखि रेसिङबाट प्रेरित प्रविधि सर्वसाधारणसम्म पुर्याउने लक्ष्यका साथ उच्च प्रदर्शनयुक्त मोटरसाइकल विकास गर्दै आएको छ। कम्पनीका अनुसार नयाँ अपाचे आरटीआर १६० ४भीले ब्रान्डको रेसिङ डीएनएलाई निरन्तरता दिँदै सुरक्षा, नियन्त्रण र राइडिङ अनुभवलाई अझ उन्नत बनाएको छ।
१५९.७ सीसी क्षमताको इन्जिन रहेको यस मोटरसाइकलले स्पोर्ट मोडमा १७.५५ पीएस र अर्बन तथा रेन मोडमा १५.६४ पीएससम्म पावर दिन्छ। यसमा ५-स्पिड गियरबक्स, १२ लिटर क्षमताको इन्धन ट्याङ्की, डुअल-च्यानल एबीएस र ३७ एमएम अपसाइड डाउन (यूएसडी) फ्रन्ट सस्पेन्सन जडान गरिएको छ।
कम्पनीका अनुसार यस मोडलमा पहिलो पटक प्रोजेक्टर एलईडी हेडल्याम्प, ५ इन्चको टीएफटी डिजिटल क्लस्टर र स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइडिङ मोड समावेश छन्। यी विशेषताले मोटरसाइकललाई अझ सुरक्षित, आधुनिक र प्रविधिमैत्री बनाएको कम्पनीको दाबी छ।
लन्च कार्यक्रममा टीभीएस मोटर कम्पनीका इन्टरनेसनल बिजनेस प्रेसिडेन्ट पेम्यान कारगरले नेपाल कम्पनीका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण बजार भएको बताए। उनले युवा तथा प्रदर्शनमुखी राइडरहरूको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै नयाँ अपाचे आरटीआर १६० ४भी सार्वजनिक गरिएको उल्लेख गरे।
जगदम्बा मोटर्स प्रालिका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नेपालमा अपाचे ब्रान्डले प्रदर्शन, शैली र प्रविधिलाई रुचाउने युवा राइडरहरूमाझ बलियो पहिचान बनाएको बताए। उनले नयाँ मोडलमा समावेश गरिएका प्रोजेक्टर हेडल्याम्प, यूएसडी सस्पेन्सन र टीएफटी क्लस्टरले समग्र राइडिङ अनुभवलाई नयाँ स्तरमा पुर्याउने विश्वास व्यक्त गरे।
साथै, विश्वस्तरीय प्रविधि नेपाली बजारमा भित्र्याउने प्रतिबद्धतालाई यस मोडलले थप मजबुत बनाएको उनको भनाइ थियो।
त्यसैगरी, टीभीएस मोटर कम्पनीका प्रिमियम बिजनेस हेड विमल सुम्ब्लीले अपाचे ब्रान्डले २० वर्षभन्दा बढी समयदेखि भारतसहित ६० भन्दा बढी देशका ६५ लाखभन्दा बढी राइडरको विश्वास जित्न सफल भएको बताए। उनले नयाँ अपाचे आरटीआर १६० ४भीले १६० सीसी सेग्मेन्टमा प्रदर्शनको नयाँ मापदण्ड कायम गर्ने विश्वास व्यक्त गरे।
नयाँ टीभीएस अपाचे आरटीआर १६० ४भी अहिले नेपालका निश्चित डिलरशिपहरूमा उपलब्ध छ। कम्पनीका अनुसार जुलाई २०२६ भित्र देशभरको डिलर नेटवर्कमार्फत बिक्री सुरु गरिनेछ।
यो बाइक म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन रङमा उपलब्ध छ। यसको एक्स-शोरूम मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।