BIZMANDU
www.bizmandu.com

सातै प्रदेशमा विविध कार्यक्रम आयोजना गरी स्वर्ण उत्सव मनाउँदै नाडा

२०८३ असार १४

सातै प्रदेशमा विविध कार्यक्रम आयोजना गरी स्वर्ण उत्सव मनाउँदै नाडा
सातै प्रदेशमा विविध कार्यक्रम आयोजना गरी स्वर्ण उत्सव मनाउँदै नाडा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण उत्सवका कार्यक्रमहरू सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

शुक्रबार काठमाडौंमा आयोजित उद्घाटन समारोह नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए।

स्वर्ण उत्सव सप्ताहव्यापी रूपमा असार १९ गतेसम्म संचालन हुनेछ। राजधानीसँगै सातै प्रदेशमा पनि विविध कार्यक्रम आयोजना गरिने नाडाले जनाएको छ।

२०३२ सालमा तोलाराम दुगडले काठमाडौंमा स्थापना गरेको नाडाले ५ दशकको यात्रालाई विभिन्न कार्यक्रममार्फत विशेष रूपमा मनाउन थालेको हो।

स्वर्ण उत्सवको अवसरमा दशरथ रंगशालादेखि होटल याक एण्ड यतिसम्म विशेष ‘वाकाथन’ कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा विशिष्ट व्यक्तित्व, नाडाका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, पूर्वअध्यक्ष, सदस्य कम्पनीका प्रतिनिधि र सञ्चारकर्मीको उल्लेखनीय सहभागिता थियो।

उद्घाटन समारोहमा नाडाका पूर्वअध्यक्षहरूलाई संस्थाको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो। आयोजकका अनुसार स्वर्ण उत्सवले नेपालको अटोमोबाइल क्षेत्रको इतिहास, उपलब्धि र भविष्यको दिशालाई उजागर गर्ने उद्देश्य राखेको छ।

स्थापनायता नाडाले २३ वटा अधिवेशन सम्पन्न गरिसकेको छ। यस अवधिमा २१ जना अध्यक्षले संस्थाको नेतृत्व गरिसकेका छन्।

नाडाले वार्षिक प्रकाशनका रूपमा ३६औं संस्करणको ‘नाडा अटोमोबाइल ट्रेड डाइरेक्ट्री’ र ५१औं संस्करणको ‘नाडा अटो न्यूज’ प्रकाशित गरिसकेको छ। साथै, १८औं संस्करणको ‘नाडा अटो ड्राइभ क्यालेन्डर’ पनि सार्वजनिक गरिसकेको छ।

नाडाले यस वर्षको भदौमा १८औं संस्करणको ‘नाडा अटो शो’ आयोजना गर्ने तयारी पनि अघि बढाएको जनाएको छ। अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा परिचित यो कार्यक्रम उद्योगी, व्यवसायी र उपभोक्ताका लागि महत्त्वपूर्ण मानिन्छ।

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका वस्तुगत संघहरूमध्ये उत्कृष्ट संघको पुरस्कार नाडाले पटक-पटक प्राप्त गरिसकेको छ। सन् २०१५ देखि संस्था आईएसओ ९००१:२०१५ गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणित संस्थाका रूपमा पनि स्थापित छ।

नाडाले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको जनाएको छ। संस्थाले देशभर विभिन्न सामाजिक कार्यक्रम संचालन गर्नुका साथै प्राकृतिक विपत्ति र राष्ट्रिय संकटका बेला सहयोगी भूमिका निर्वाह गर्दै आएको छ।