BIZMANDU
www.bizmandu.com

कोलम्बिया समूह विजेता, पोर्चुगल उपविजेता, उज्बेकिस्तान हार्दा कंगो पनि नकआउटमा

२०८३ असार १४

कोलम्बिया समूह विजेता, पोर्चुगल उपविजेता, उज्बेकिस्तान हार्दा कंगो पनि नकआउटमा
Portugal's Cristiano Ronaldo (7) shoots against Colombia's Jhon Lucumi (3) during the World Cup Group K soccer match between Colombia and Portugal in Miami Gardens, Fla., Saturday, June 27, 2026. (AP Photo/Marta Lavandier)

काठमाडौं। पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन्। फिफा विश्वकपमा आज सम्पन्न समूह ‘के’को खेलमा यी दुई टोली बराबरीमा रोकिँदा डीआर कंगोले उज्बेकिस्तानलाई ३-१ गोलले हरायो।

Tata
GBIME
Nepal Life

योसँगै ७ अंक बनाएको कोलम्बिया समूह विजेता बन्दै नकआउटमा पुग्दा पोर्चुगल ५ अंकसहित उपविजेता बन्यो। त्यस्तै, ४ अंक बनाएको कंगो तेस्रो स्थानका टोलीमध्ये उत्कृष्ट बन्दै नकआउटमा स्थान पक्का गर्न सफल भयो।

पोर्चुगल र कोलम्बिया दुबैले आक्रामक खेल खेल्दै गोलका अवसर बनाए पनि फिनिसिङमा दुबै कमजोर रहे।

प्रभावकारी देखिएनन् रोनाल्डो

खासगरी पहिलो हाफको अन्त्यतिर पोर्चुगलले पनि केही उत्कृष्ट अवसर सिर्जना गर्‍यो। ४०औँ मिनेटमा ब्रुनो फर्नान्डेजको प्रहारलाई ३७ वर्षीय गोलरक्षक क्यामिलो भार्गासले शानदार बचाउ गरे भने त्यसलगत्तै जोआओ फेलिक्सको भली थोरै माथिबाट बाहिरियो।

५५औँ मिनेटमा जेफरसन लेर्माको शक्तिशाली प्रहारलाई कोस्टाले मुस्किलले जोगाए। त्यसपछि पनि लगातार दवाब बनाएको कोलम्बियाले पोर्चुगलको डिफेन्सलाई दबाबमा त राख्यो तर गोल निकाल्न सकेनन्।

पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले केही अवसर पाए पनि प्रभावकारी फिनिसिङ गर्न सकेनन्। प्रशिक्षक रोबर्टो मार्टिनेजले दोस्रो हाफमा राफाएल लियाओ, सामु कोस्टा, जोआओ नेभेस, डियोगो डालोट र म्याथियस नुनेसलाई मैदानमा उतारे पनि खेलको नतिजा बदल्न सकेनन्।

खेलको सबैभन्दा नाटकीय क्षण इन्जुरी समयमा आयो। ९१औँ मिनेटमा डेभिन्सन सान्चेजले कर्नरबाट आएको बललाई हेडमार्फत जाली चुमाएका थिए। तर भीएआरले सान्चेजको खुट्टाको औँलामात्रै अफसाइड रहेको पुष्टि गर्दै गोल रद्द गरिदियो। त्यससँगै कोलम्बियाले अन्तिम क्षणमा सम्भावित जित गुमायो।

सानदार पुनगरागमन जितले कंगो नकआउटमा

त्यस्तै अर्को खेलमा डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआर कंगो) ले शानदार पुनरागमन गर्दै उज्बेकिस्तानलाई ३-१ ले पराजित गरेको छ। एटलान्टामा आजै भएको खेलमा पहिलो हाफमा पछि परेको डीआर कंगोले दोस्रो हाफमा तीन गोल फर्काएर अन्तिम ३२ मा स्थान सुरक्षित गर्‍यो।

कंगो र उज्बेकिस्तानको प्रतिस्पर्धा। Photo: RSS/AP Photo/Mike Stewart

उज्बेकिस्तानले खेलको १०औँ मिनेटमै अग्रता लिएको थियो। अब्बोसबेक फैजुल्लाएभको लामो पासमा एल्डोर शोमुरोदोभले गोलरक्षकलाई उत्कृष्ट चिप प्रहार गर्दै उज्बेकिस्तानलाई १-० को अग्रता दिलाए। यो विश्वकपमा उज्बेकिस्तानको इतिहासकै पहिलो गोल पनि बन्यो।

डीआर कंगोले १८औँ मिनेटमा नाथानियल एम्बुकुमार्फत बराबरी गोल गरेको थियो। तर भीएआरले बिल्डअपमा फाउल भएको ठहर गर्दै गोल रद्द गरिदिएपछि अफ्रिकी टोली निराश बन्यो। त्यसपछि पहिलो हाफभरि दबाब बनाए पनि डीआर कंगोले गोल फर्काउन सकेन।

खेलको ६६औँ मिनेटमा योआने विस्सामाथि अब्दुकोदिर खुसानोभले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि डीआर कंगोले पेनाल्टी पायो। ६८औँ मिनेटमा विस्साले नै पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल १-१ को बराबरीमा ल्याए।

बराबरीपछि डीआर कंगोको दबाब झन् बढ्यो। ७८औँ मिनेटमा मैदान प्रवेश गरेका मेसाक एलियाको प्रहार डिफ्लेक्ट भएपछि फिस्टोन मायेलीले नजिकैबाट गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए।

इन्जुरी समयको पहिलो मिनेटमा एलियाले फेरि उत्कृष्ट भूमिका निर्वाह गरे। उनले बायाँ विङबाट बल जोगाउँदै योआने विस्सालाई पास दिए। यसमा फरवार्ड विस्साले करिब २० यार्ड टाढाबाट दायाँ खुट्टाले आकर्षक प्रहार गर्दै गोल गर्न सफल भए। विश्वकपमा उनको तेस्रो गोलसँगै डीआर कंगोले ३-१ को जित सुनिश्चित गर्‍यो।

यस जितसँगै डीआर कंगोले समूह चरण पार गर्दै नकआउट चरणमा स्थान बनाएको छ। पहिलो दुई खेलमा कोलम्बियासँग १-० ले पराजित र पोर्चुगलसँग १-१ को बराबरी खेलेको डीआर कंगोका लागि यो जित ‘गर या मर’ को अवस्थामा आएको थियो। अर्कोतर्फ, लगातार तेस्रो हार बेहोरेको उज्बेकिस्तान अंकविहीन रहँदै विश्वकपबाट बाहिरिएको छ।