BIZMANDU
www.bizmandu.com

इङ्ग्ल्याण्ड र क्रोएसिया विजयी, घानाले पनि नकआउटमा स्थान बनाउँदा पानामा बाहिरियो

२०८३ असार १४

इङ्ग्ल्याण्ड र क्रोएसिया विजयी, घानाले पनि नकआउटमा स्थान बनाउँदा पानामा बाहिरियो
इङ्ग्ल्याण्ड र क्रोएसिया विजयी, घानाले पनि नकआउटमा स्थान बनाउँदा पानामा बाहिरियो

काठमाडौं। फिफा विश्वकपको समूह ‘एल’ बाट इङ्ग्ल्याण्ड र क्रोएसियासँगै घाना पनि नकआउट चरणमा पुगेको छन्। आज सम्पन्न खेलमा इङ्ग्ल्याण्डले पानालाई र क्रोएसियाले घानालाई हराउँदा समूहको अन्तिम समीकरण तयार भएको हो।

Tata
GBIME
Nepal Life

यो समूहबाट ३ खेलबाट ७ अंकसहित इङ्ग्ल्याण्ड समूह विजेता बन्दा ६ अंकसहित क्रोएसिया उपविजेता बन्दै नकआउटमा पुगे। ४ अंक बनाएको घाना उत्कृष्ट तेस्रो टोलीमध्येमा पर्दै नकआउट पुग्न सफल भयो।

पानामामाथि इङ्ग्ल्याण्डको सहज जित

आज सम्पन्न खेलमा जुड बेलिङ्घम र ह्यारी केनको दोस्रो हाफको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले पानामालाई २-० गोलले हरायो।

सुरुआती समयदेखि बलमा प्रभुत्व जमाए पनि इंग्ल्यान्डले पानामाको अनुशासित रक्षापंक्तिलाई लामो समयसम्म तोड्न सकेन। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इंग्ल्यान्डले दोस्रो हाफमा मात्र सफलता पाएको थियो।

६२औं मिनेटमा बुकायो साकाको कर्नरमा जुड बेलिङ्घमले उत्कृष्ट भलीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। प्रतियोगितामा उनको यो दोस्रो गोल हो।

त्यसको पाँच मिनेटपछि बेलिङ्घमकै उत्कृष्ट पासमा कप्तान ह्यारी केनले नजिकैबाट हेडमार्फत गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर बनाए।

बलमाथि इंग्ल्यान्डको नियन्त्रण रहे पनि पानामाले केही तीव्र काउन्टर अट्याक गर्दै इंग्लिस रक्षापंक्तिलाई दबाबमा राखेको थियो। खेलको इन्जुरी समयमा होसे फहार्डोले गोल गरे पनि अफसाइडका कारण गोल मान्यता पाएन।

समूह विजेता बनेको इंग्ल्यान्डले अब अन्तिम ३२ मा सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ। पानामा भने तीनै खेल हार्दै अंकविहीन रह्यो। साथै, विश्वकपमा १६ वर्षयता समूह चरणमा एउटा पनि गोल गर्न नसक्ने पहिलो टोली बनेको छ।

घानामाथि क्रोएसियाको साँघुरो जित   

आजै सम्पन्न अर्को खेलमा क्रोएसियाले घानालाई मुस्किलले हरायो।

निकोला भ्लासिचले खेलको अन्त्यतिर गरेको निर्णायक गोलमा क्रोएसियाले घानालाई २-१ गोलले हराउँदै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ।

समूह ‘एल’ अन्तर्गतको निर्णायक खेलमा जित अनिवार्य रहेको क्रोएसियाले पहिलो हाफमा पेटार सुचिचको शानदार गोलमार्फत अग्रता लिएको थियो। ३१औं मिनेटमा माटेओ कोभाचिचको पासमा सुचिचले बक्सबाहिरबाट शक्तिशाली प्रहार गर्दै टोलीलाई १–० को अग्रता दिलाए।

पहिलो हाफमा प्रभावहीन देखिएको घानाले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गर्‍यो। ७३औं मिनेटमा अर्नेस्ट नुआमाहको फ्रिकिकमा डेरिक लुकासेनले उत्कृष्ट फिनिस गर्दै बराबरी गोल गरे। सुरुमा अफसाइडको संकेत गरिए पनि भीएआर करिब चार मिनेटको समीक्षा पछि गोललाई मान्यता दिएको थियो।

तर, घानाको खुसी धेरैबेर टिकेन। ८३औं मिनेटमा कप्तान लुका मोड्रिचको कर्नरमा निकोला भ्लासिचले सशक्त हेडमार्फत गोल गर्दै क्रोएसियालाई पुनः अग्रता दिलाए। ४० वर्ष २९१ दिनका मोड्रिच विश्वकप इतिहासमा (१९६६ यता) सबैभन्दा बढी उमेरमा असिस्ट गर्ने खेलाडी बने।

इन्जुरी समयमा घानाले बराबरीका लागि दबाब बढाए पनि क्रोएसियाली रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता जोगायो।