BIZMANDU
www.bizmandu.com

वैदेशिक रोजगारमा पठाउने प्रलोभन दिई ठगी गर्ने तीन जना पक्राउ

२०८३ असार १३

वैदेशिक रोजगारमा पठाउने प्रलोभन दिई ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा पठाउने प्रलोभन दिई ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं। आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

GBIME
Tata

नेपाल प्रहरीको केन्द्रीय समाचारकक्षका अनुसार प्रहरीले बाराका गगनबहादुर स्याङ्तान, सर्लाहीका निर्जल बस्नेत र दाङका बलबहादुर चन्द ठकुरीलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट चार लाख ३० हजार रुपैयाँ, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एकजनाबाट तीन लाख ९० हजार रुपैयाँ र बल बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै एक जनाबाट एक लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको पाइएको छ।

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं र ललितपुरबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउमध्ये गगन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने निर्जल र बल बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी इलाम देऊमाई नगरपालिका–२ का कृष्णकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत इलामबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ–१४ बल्खुबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको छ। रासस