BIZMANDU
www.bizmandu.com

मिनरल वाटरभन्दा फरक स्पार्कलिङ वाटर, बिस्तारै बढ्दै नेपाली बजारको आकर्षण

२०८३ असार १३

मिनरल वाटरभन्दा फरक स्पार्कलिङ वाटर, बिस्तारै बढ्दै नेपाली बजारको आकर्षण
मिनरल वाटरभन्दा फरक स्पार्कलिङ वाटर, बिस्तारै बढ्दै नेपाली बजारको आकर्षण

काठमाडौं। पेय पदार्थको बजारमा पछिल्लो समय ‘स्पार्कलिङ वाटर’प्रति उपभोक्ताको चासो बिस्तारै बढ्न थालेको छ। परम्परागत मिनरल वाटर, कार्बोनेटेड सफ्ट ड्रिंक, इनर्जी ड्रिंक र अल्कोहलयुक्त पेयको विकल्प खोज्ने उपभोक्ताले कम चिनी, कम क्यालोरी र कम फ्याट भएका पेय पदार्थ रोज्न थालेसँगै स्पार्कलिङ वाटरको बजार पनि विस्तार हुन थालेको हो।

Tata
GBIME
Nepal Life

केही वर्षअघिसम्म फ्रान्स लगायत विभिन्न देशबाट मात्रै आयात हुने स्पार्कलिङ वाटर अहिले स्वदेशमै उत्पादन हुन थालेको छ। बजारमा पेरियर, सान पेल्लेग्रिनो जस्ता अन्तर्राष्ट्रिय ब्रान्डसँगै नेपाली ब्रान्ड ‘फ्रोभा’ पनि उपलब्ध छ। माग बिस्तारै बढ्न थालेपछि स्वदेशी उद्योगले समेत उत्पादन थालेका हुन्।

स्पार्कलिङ वाटर कार्बन डाइअक्साइड ग्यास मिसाइएको प्रिमियम श्रेणीको पानी हो। सामान्य मिनरल वाटरभन्दा यसको स्वाद र अनुभव फरक हुने भएकाले विकसित मुलुकमा यसको प्रयोग व्यापक छ। कतिपय स्पार्कलिङ वाटर स्वादरहित हुन्छन् भने अहिले फलफूलको फ्लेभर मिसाइएका उत्पादन पनि बजारमा उपलब्ध छन्।

नेपालमा स्पार्कलिङ वाटरको प्रयोग अझै सीमित भए पनि गर्मी मौसमसँगै यसको खोजी गर्ने उपभोक्ताको संख्या बढ्न थालेको व्यवसायीहरू बताउँछन्। होटल, रेस्टुरेन्ट, क्याफे, नाइट क्लब तथा आधुनिक सुपरमार्केटहरू यसको मुख्य बजार बनेका छन्।

स्वदेशी ब्रान्ड ‘फ्रोभा’ले गत वर्षदेखि स्पार्कलिङ वाटर उत्पादन सुरु गरेको हो। कम्पनीले स्ट्रबेरी, पिच र पाइनापल फ्लेभरमा जिरो सुगर, जिरो क्यालोरी र जिरो फ्याटयुक्त स्पार्कलिङ वाटर बजारमा ल्याएको छ। कम्पनीका अनुसार चिनी बढी भएका कार्बोनेटेड पेयको तुलनामा तुलनात्मक रूपमा स्वस्थ विकल्प दिन खोजिएको हो।

यश कारा ग्रुपका प्रबन्धक रेमण्ड गुरुङका अनुसार कम्पनीले बजारको माग मात्र नभई स्वास्थ्यप्रति सचेत उपभोक्तालाई लक्षित गर्दै उत्पादन सुरु गरेको हो।

‘धेरै उपभोक्ताले इनर्जी ड्रिंक र सोडा स्वास्थ्यका लागि राम्रो होइन भन्ने थाहा हुँदाहुँदै पनि सेवन गरिरहेका छन्। त्यसैले हामीले फ्लेभरयुक्त स्पार्कलिङ वाटरलाई तुलनात्मक रूपमा स्वस्थ विकल्पका रूपमा बजारमा ल्याएका हौं,’ उनले भने।

उनका अनुसार सामान्य स्पार्कलिङ वाटरमा स्वाद नहुने भए पनि फ्रोभाले फलफूलको स्वाद मिसाएर नेपाली उपभोक्ताको रुचिअनुसार उत्पादन विकास गरेको हो। उत्पादनमा आवश्यकभन्दा बढी रासायनिक पदार्थ प्रयोग नगरिएको दाबी पनि कम्पनीको छ।

हाल उत्पादन काठमाडौं उपत्यकाका मेट्रोमार्ट, होटल, रेस्टुरेन्ट र क्याफेहरूमा केन्द्रित छ। कम्पनीले अहिले दोस्रो तहका बजारमा विस्तार नगरे पनि आगामी दिनमा देशभर पुर्‍याउने लक्ष्यसहित म्याङ्गो फ्लेभर पनि ल्याउने तयारी गरिरहेको गुरुङले बताए।

उनका अनुसार उत्पादन नेपालमै भए पनि आवश्यक कच्चा पदार्थ भने सबै विदेशबाट आयात गर्नुपर्छ।

‘नेपालमै सबै कच्चा पदार्थ उपलब्ध हुने अवस्था भए उत्पादन लागत अझै कम हुन्थ्यो,’ उनले भने।

फ्रोभाको ३३० मिलिलिटरको एक क्यानको मूल्य १६५ रुपैयाँ छ। कम्पनीका अनुसार विदेशी ब्रान्डको तुलनामा यो सस्तो भए पनि उत्पादन प्रिमियम श्रेणीमा पर्ने भएकाले सामान्य पानीभन्दा महँगो देखिएको हो।

कम्पनीले उत्पादन क्षमता प्रति घण्टा १ लाख क्यान रहेको जनाएको छ। तर, स्पार्कलिङ वाटरबारे उपभोक्तामा पर्याप्त जानकारी नहुँदा अहिले मागअनुसार मात्रै उत्पादन भइरहेको गुरुङले बताए।

बजारमा पनि यसको माग बिस्तारै बढ्दै गएको व्यापारीहरूको अनुभव छ। अनामनगरस्थित गुडमार्टका एक कर्मचारीका अनुसार केही महिनायता स्पार्कलिङ वाटर खोज्ने ग्राहक दैनिक बढिरहेका छन्।

‘अहिलेसम्म अन्य कोल्ड ड्रिंकजस्तो ठूलो बिक्री छैन, तर नियमित खोज्ने ग्राहकको संख्या बिस्तारै बढिरहेको छ,’ उनले भनिन्।

बबरमहलस्थित एक मदिरा पसलका संचालकले पनि ग्राहकले विशेषगरी विदेशी ब्रान्ड पेरियरको खोजी गर्ने गरेको बताए। तर, आयात अनियमित भएकाले मागअनुसार उपलब्ध गराउन नसकिएको उनको भनाइ छ। हाल पसलमा अन्य ब्रान्डका स्पार्कलिङ वाटर बिक्री भइरहेका छन्।

ठूला खुद्रा व्यापारिक संस्थाहरूका अनुसार पनि स्पार्कलिङ वाटरको बजार विस्तार हुने सम्भावना देखिए पनि अहिले यसको उपभोग सीमित वर्गमा मात्रै केन्द्रित छ।

भाटभटेनी सुपरमार्केटका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलका अनुसार स्पार्कलिङ वाटर मुख्यतः यसको स्वादसँग परिचित तथा उच्च आय भएका उपभोक्ताले मात्र खोज्ने गरेका छन्।

‘नेपालमा धेरै मानिसलाई स्पार्कलिङ वाटर भनेको के हो भन्ने जानकारी नै छैन। त्यसैले यसको कारोबार अझै सीमित छ,’ उनले भने।

उनका अनुसार विदेशी ब्रान्डको ३३० मिलिलिटर बोतल करिब ३०० रुपैयाँसम्म पर्ने भएकाले मूल्य पनि यसको बजार विस्तारमा चुनौती बनेको छ।

‘ठूलो माग नभएकै कारण आयातकर्ताले पनि बेला-बेलामा मात्र ल्याउने गरेका छन्,’ उनले बताए।

सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सुशील प्रधानाङ्गले पनि स्पार्कलिङ वाटरको माग सामान्य रहेको बताए। उनका अनुसार यो विशेष प्रकारको रिफ्रेसिङ पेय भएकाले सीमित ग्राहकले मात्रै खरिद गर्ने गरेका छन्।

‘विश्व बजारमा पेरियरले स्पार्कलिङ वाटरलाई लोकप्रिय बनाएको हो। अहिले नेपालमा पनि केही अन्तर्राष्ट्रिय ब्रान्डसँगै स्वदेशी उत्पादन फ्रोभा आएको छ,’ उनले भने, ‘स्वदेशी उत्पादनको बिक्री उत्साहजनक देखिए पनि समग्र बजार भने अझै प्रारम्भिक चरणमै छ।’

व्यवसायीहरूका अनुसार उपभोक्तामा स्वास्थ्यप्रति बढ्दो सचेतना, चिनी कम भएका पेयप्रतिको आकर्षण तथा नयाँ स्वाद खोज्ने प्रवृत्तिका कारण आगामी वर्षहरूमा स्पार्कलिङ वाटरको बजार विस्तार हुने संकेत देखिएको छ। यद्यपि, मूल्य, सीमित वितरण सञ्जाल र उपभोक्तामा पर्याप्त जानकारीको अभाव अहिले पनि यसको विस्तारका मुख्य चुनौती छन्।