बेलबारी (मोरङ)। मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ। तर खरिदबिक्री मूल्य भने घटेको छ।
गत वर्षभन्दा यस वर्ष दुई हजार १९६ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। चैते धानको उत्पादन बढेपनि मूल्यमा गिरावटका कारण किसानले जनाएका छन्।
जिल्लामा गत वर्ष १ लाख १ हजार ३७४.१० मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष बढेर उत्पादन १ लाख ३ हजार ५७०.६० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहले जानकारी दिए।
गतवर्ष १७ हजार ७५५ हेक्टर जमिनमा चैते धान लगाइएकोमा बिस्तारसँगै यसपालि १७ हजार ८५७ हेक्टर पुगेको थियो। गत वर्ष ५.७१ उत्पादकत्व भएकोमा यसवर्ष वृद्धिभई ५.८० पुगेको हो। अघिल्लो साल चैते धानको मूल्य क्वीन्टल २ हजार ७ सयसम्म पुगेकोमा यस वर्ष घटेर क्वीन्टल दुई हजार सम्मममा भइरहेको रंगेली-१ का किसान चन्द्र अधिकारी बताउँछन्।
चैते धानले लगानी पनि नउठेको गुनासो गर्दै बेलबारी-९ नलबारीका किसान नरबहादुर कटुवालले भने, ‘भण्डारणको समस्याले गर्दा पनि धान सस्तोमा बेच्नुपरेको छ। किसानको पहुचमा भण्डारण हुनेथियो भने यति सस्तोमा धान बेच्नुपर्ने थिएन।’
कृषि ज्ञान केन्द्रका अनुसार १७ पालिकामध्ये सुन्दरहरैंचा, बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रंगेली र जहदाका किसानले विशेषगरी चैते धानको खेती गर्ने गरेका छन्। रासस