BIZMANDU
www.bizmandu.com

एम्बाप्पे होइन डेम्बेलेले गरे नर्वेविरुद्ध गोलमा ह्याट्रिक, किन मैदानमै उत्रिएनन् हाल्याण्ड र ओडेगार्ड?

२०८३ असार १३

एम्बाप्पे होइन डेम्बेलेले गरे नर्वेविरुद्ध गोलमा ह्याट्रिक, किन मैदानमै उत्रिएनन् हाल्याण्ड र ओडेगार्ड?
FOXBOROUGH, MASSACHUSETTS - JUNE 26: Ousmane Dembele #7 of France celebrates scoring his team's first goal during the FIFA World Cup 2026 Group I match between Norway and France at Boston Stadium on June 26, 2026 in Foxborough, Massachusetts. (Photo by Justin Setterfield/Getty Images)

काठमाडौं। फ्रान्सले नर्वेलाई हराएको छ। फिफा विश्वकप अन्तर्गत समूह ‘आई’ को खेलमा फ्रान्सले नर्वेमाथि ४-१ को प्रभावशाली जित निकाल्दै समूहको विजेता बनेको हो।

Tata
GBIME
Nepal Life

मार्टिन ओडेगार्ड र अर्लिङ हाल्याण्डजस्ता महत्त्वपूर्ण खेलाडीबिनै मैदान उत्रिएको नर्वेलाई हराउन फ्रान्सका ओस्मान डेम्बेलेले ह्याट्रिक गोल गरे। एसिस्टमा भने एम्बाप्पे अघि रहे। डेजायरे दुएले इन्ज्युरी समयमा अर्को गोल थपेका थिए। त्यस्तै, नर्वेका थेलो असगार्डले एक गोल फर्काए।

यो खेल एम्बाप्पे भर्सेस हाल्याण्डको हुने भनेर चर्चा भए पनि न यसमा हाल्याण्ड मैदानमा उत्रिए न एम्बाप्पेले गोल नै गरे। नर्वेले त सुरुवाती ११ मै १० जनाको ब्यापक परिवर्तन गरेर मैदान उत्रिएको थियो। यसको पछाडि भने नकआउट चरणको समीकरण मुख्य कारण हुन सक्छ।

समूह विजेताले स्वीडेन र समूह उपविजेताले आइभोरी कोस्टसँग खेल्ने समीकरण रहँदा नर्वेले आइभोरीकोस्टलाई रोज्दै पूरा क्षमतामा नउत्रिएको देखिन्छ।

योसँगै फ्रान्सले समूह चरणमा शतप्रतिशत जित कायम राख्दै नर्वेमाथि ४–१ को प्रभावशाली जित निकालेको छ। बोस्टनमा शुक्रबार राति भएको खेलमा ओस्मान डेम्बेलेको ह्याट्रिक प्रेरित फ्रान्सले समूह ‘आई’ को विजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेको हो।

खेलको सातौं मिनेटमै किलियन एमबाप्पेको उत्कृष्ट पासमा डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। २०औं मिनेटमा फेरि एमबाप्पेकै असिस्टमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले अग्रता दोब्बर बनायो।

तर नर्वेले त्यसको एक मिनेटपछि नै खेलमा फर्कने संकेत दियो। आन्द्रेयास स्केल्डेरुपको पासमा थेलो आसगार्डले सुन्दर फिनिस गर्दै नर्वेको खाता खोले।

यद्यपि ३२औं मिनेटमा डेम्बेलेले औरेलियन चुआमेनीको पासलाई सदुपयोग गर्दै ह्याट्रिक पूरा गरेपछि फ्रान्सले पहिलो हाफ ३–१ को अग्रतासहित नर्वेलाई दवाब बढायो।

फ्रान्सका ओस्मान डेम्बेलेले गरेको दोस्रो गोलपछि रोक्ने प्रयासमा असफल नर्वेका गोलकिपर इगिल सेल्भिक। तस्बिर : एपी

दोस्रो हाफको सुरुमै नर्वेले खेलमा फर्किने सुनौलो अवसर पाएको थियो। ४८औं मिनेटमा ओस्कार बोब्बमाथि थियो हेर्नान्डेजले फल गरेपछि पेनाल्टी दिइएको थियो। तर योर्गेन स्ट्रान्ड लार्सेनको कमजोर प्रहार फ्रान्सका गोलकिपर माइक माइनानले सहजै बचाए।

त्यसपछि फ्रान्सले खेलमाथिको नियन्त्रण कायम राख्यो। इन्जुरी समयको चौथो मिनेटमा ब्राड्ली बारकोलाको उत्कृष्ट क्रसमा डिजिरे डुएले हेडमार्फत गोल गर्दै फ्रान्सको जितलाई ४–१ मा पुर्‍याए।

फ्रान्सले खेलभर १६ प्रहार गर्दा आठ प्रहार लक्ष्यमा राख्यो। नर्वेले दोस्रो हाफमा केही अवसर बनाए पनि पेनाल्टीसमेत सदुपयोग गर्न नसक्दा पुनरागमन गर्नै सकेन।

समूह चरणका तीनै खेल जित्दै फ्रान्स समूह ‘आई’ को शीर्ष टोली बन्यो। नर्वे भने दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ। अब फ्रान्सले अन्तिम ३२ मा स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ भने नर्वेको भेट आइभरी कोस्टसँग हुनेछ।

अर्को खेलमा इराकमाथि सेनेगलले ५-० गोलको जित निकाल्दै समूह चरणको अन्तिम खेलमा जित निकाल्न सफल भयो।