विराटनगर। पूर्वका व्यवसायीले सम्पूर्ण उद्योग व्यवसाय तीव्र प्रतिस्पर्धामा सञ्चालन भइरहेको कोशी प्रदेश कहिले हेर्न पाइएला भन्ने चिन्ता व्यक्त गरेका छन्।
पूर्वको एक अग्रणी व्यावसायिक संस्था उद्योग संगठन मोरङको ५३औँ वार्षिक साधारण सभाका सहभागी व्यवसायीले कोशी प्रदेशको औद्योगिक व्यावसायिक गतिविधिमा आक्रामक तर स्वस्थ प्रतिस्पर्धाको चाहना व्यक्त गरेका हुन्।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले भने, ‘हामी यस्तो पुर्वी नेपालको कल्पना गर्दछौँ, जहाँ उद्योगहरू प्रतिस्पर्धी हुन्। युवाशक्ति अवसरका लागि बाहिरिन बाध्य नहोस् अनि उद्यमशीलता एक सम्मानित र आकर्षक करिअरको विकल्पका रूपमा स्थापित होस्।’
अध्यक्ष राठीले उद्योग, शिक्षा र अनुसन्धानका बिच सुदृढ सम्बन्ध हुनुपर्ने र निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख साझेदारका रूपमा स्वीकार र अङ्गीकार गर्न सक्नुपर्ने बताए।
राठीले भने, ‘विदेशी मुद्रा सञ्चिति, बैंकिङ प्रणालीको तरलता तथा ब्याजदरका सूचकहरू सुधारोन्मुख भए पनि उद्योग, लगानी, उत्पादनका क्षेत्रले अझै अपेक्षित गति लिन सकेका छैनन्। निजी क्षेत्रको चुनौती केवल तरलताको नभई विश्वासको पनि भएको छ।’
उनले अन्तर्राष्ट्रिय परिस्थितिका कारण आपूर्ति शृंखला, ढुवानी तथा उत्पादन लागतमा समेत दबाब सिर्जना भएको चर्चा गरे। यस्तो दबाबमा पनि निजी क्षेत्र उत्पादन, रोजगारी र आर्थिक गतिविधिलाई निरन्तरता दिन प्रतिबद्ध रहेको उनको जिकिर छ।
नेउवा महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले सरकारले लगानीमैत्री वातावरण बनाउने हो भने नीतिगत स्थिरता र पूर्वाधारको विकासमा ध्यान दिएर निजी क्षेत्रसित सहकार्य गर्नुपर्ने कुरामा जोड दिए।
संगठनका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुयश प्याकुरेलले व्यावसायिक मुद्दाको बहस पैरवीमा विराटनगर सधैँ अग्रणी भइरहेको चर्चा गर्दै यसको नेतृत्व उद्योग संगठनले नै गर्दैआएको दाबी गरे।
महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशको राजधानी विराटनगरमा व्यावसायिक संस्था पर्याप्त भए पनि आपसी एकताका अभावमा निजी क्षेत्रका मुद्दाहरू ओझेलमा पर्दै गएको स्पष्ट पारे।
अध्यक्ष राउतले भने, ‘कुनै बेला यहाँका व्यावसायिक संस्थामा एकता हुँदा बन्द भएको सीमानाका खुलाएकोसम्म इतिहास छ। तर त्यो इतिहास मात्र भएको छ वर्तमानमा छैन।’
सीएनआई कोशीका अध्यक्ष पवनकुमार शारडाले यति सस्तो ब्याजदर हुँदा पनि लगानी किन आइरहेको छैन भन्ने कुरामा सबैको ध्यान जानुपर्ने आग्रह गरे।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले देशको उत्पादन, राजस्व र रोजगारीमा सबैभन्दा ठूलो योगदान गर्ने निजी क्षेत्रलाई बाहिर राखेर कसैले पनि समृद्धिको कल्पना गर्नु नहुने अपिल गरे।
साधारण सभामा उच्च निर्यात योगदान उद्योग सम्मानबाट पशुपति खाद्य तेल उद्योग, उदीयमान निर्यात उद्योग सम्मानबाट जय श्री पियुटेक, आत्मनिर्भरता कदर सम्मानबाट एलेक्सा लाइफ साइन्सेस प्रालि र उच्च रोजगार योगदान कदर सम्मानबाट अरिहन्त मल्टिफाइबर्स लिमिटेडलाई सम्मानित गरिएको थियो।