काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह चरणको खेल सकिँदै गएको छ। केही दिनयता विश्वकपको नकआउट चरणमा पुग्ने र समूह चरणबाटै बाहिरिने टोलीको धमाधम टुंगो लागिरहेको छ। यसले धेरैको ध्यान अन्तिम ३२ मा बन्ने समीकरणतिर ढल्किन थालेको छ।
तर, समूह चरणमै आज राति छुटाउन नहुने एउटा खेल हुँदैछ। समूह ‘आई’ को खेलमा यी दुई फ्रान्स र नर्वे आमनेसामने हुँदा विश्वकपमा हेर्नैपर्ने दुई ‘गोल मसिन’ खेलाडी आमनेसामने हुनेछन्। यी दुई टोलीमा छन् यस्ता दुई सुपर स्टार खेलाडी जसको प्रभाव टिममा असाध्यै ठूलो रहने गर्छ।
यी दुई उत्कृष्ट फरवार्ड हुन्- किलियन एमबाप्पे र एर्लिङ हाल्यान्ड। शुक्रबार बोस्टन स्टेडियममा आमनेसामने हुँदैछन्। समूह ‘आई’को शीर्ष स्थानका लागि हुने यस खेलमा फ्रान्स र नर्वेबीच प्रतिस्पर्धा हुनेछ।
दुवै टोलीले विश्वकपका सुरुआती दुई खेल जितेर यसअघि नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन्। तर, समूह विजेता बन्ने होडका कारण यो खेलको महत्त्व अझ बढेको छ। समूह विजेताले नकआउट चरणमा तुलनात्मक रूपमा सहज यात्रा पाउने सम्भावना रहनेछ।

फ्रान्सका कप्तान एमबाप्पे र नर्वेका स्टार स्ट्राइकर हाल्यान्ड दुवैले प्रतियोगिताको पहिलो दुई खेलमा समान चार–चार गोल गरेका छन्। गोल्डेन बुटको दौडमा भने पाँच गोलसहित अर्जेन्टिनाका लियोनेल मेसी अग्रस्थानमा छन्। उनलाई यी दुईले नजिकबाट चुनौती दिइरहेका छन्।
फ्रान्स र नर्वेसँगै शनिबारका ६ वटा खेल हुनेछन्। नर्वे र फ्रान्स तथा सेनेगल र इराक पौने १ बजे भिड्नेछन्। त्यस्तै, बिहान पौने ६ बजे पनि दुई खेल हुनेछन्। यसमा स्पेन र उरुग्वे तथा साउदी अरब र केप भर्डे भिड्नेछन्। सवा ९ बजे पनि २ खेल हुनेछन्। यसमा न्युजिल्याण्ड र बेल्जियम तथा इजिप्ट र इरान भिड्ने छन्।

खेलको मोमेन्टम फेर्ने खेलाडी
यी दुबै खेलाडीको उपस्थितिले टिमको प्रदर्शनमै ठूलो फरक पार्ने गरेको तथ्यांकले देखाउँछ।
एमबाप्पेको उपस्थितिले फ्रान्सको प्रदर्शनमा ठूलो प्रभाव पार्ने तथ्यांकले देखाउँछ। अगस्ट २०२२ यता एमबाप्पे टोलीमा हुँदा फ्रान्सले करिब ७० प्रतिशत खेल जितेको छ भने उनीबिनाको जित प्रतिशत ५० मात्र छ। फ्रान्सका सर्वाधिक गोलकर्ता एमबाप्पे मैदानमा हुँदा टोलीले औसत २.३ गोल गर्ने गरेको छ, जबकि उनी नभएको अवस्थामा यो औसत १.९ गोलमा सीमित छ।
नर्वेका लागि हाल्यान्डको भूमिका अझ निर्णायक छ। उनी टोलीमा हुँदा नर्वेको जित प्रतिशत ६४.५ रहेको छ भने उनी अनुपस्थित हुँदा त्यो ३३.३ प्रतिशतमा झर्छ।

यो विश्वकपमा दुवै खेलाडीले दबाबलाई सहज रूपमा सामना गरेका छन्। एमबाप्पेले विश्वकपमा १६ खेलबाट १६ गोल गरिसकेका छन् र सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा रहेका मेसीभन्दा केवल दुई गोलले पछाडि छन्।
उता पहिलो पटक विश्वकप खेलिरहेका हाल्यान्डले प्रतियोगितामा धमाकेदार सुरुआत गरेका छन्। उनले पहिलो दुई खेलमै दुई–दुई गोल गर्दै विश्वकप इतिहासमा पहिलो दुई खेलमा लगातार दुई वा बढी गोल गर्ने खेलाडीहरूको विशेष सूचीमा स्थान बनाएका छन्। पछिल्ला १२ प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेलमा उनले लगातार गोल गरेका छन् भने पछिल्ला ६ खेलमा मात्रै १६ गोल गरेका छन्।
अन्तर्राष्ट्रिय करियरमा हाल्यान्डको गोल गर्ने दर झन् प्रभावशाली छ। एमबाप्पेले १०० खेलमा ६० गोल गरेका छन् भने हाल्यान्डले केवल ५२ खेलमै ५९ गोल गरिसकेका छन्।
दुबै गोलमसिन तर शैली फरक
हाल्यान्ड र एमबाप्पे दुवै आधुनिक फुटबलका उत्कृष्ट फरवार्ड मानिन्छन्। तर उनीहरूको खेल्ने शैली पूर्ण रूपमा फरक छ।
हाल्यान्ड पेनाल्टी क्षेत्रभित्र अवसर खोज्न माहिर ‘पोचर’ हुन्। सीमित ठाउँमा पनि गोल गर्ने अवसर सिर्जना गर्न उनी सक्षम छन्। उता एमबाप्पे विंगबाट गति र ड्रिब्लिङमार्फत डिफेन्डरलाई छल्दै आक्रमण बुन्न रुचाउँछन्। यस विश्वकपका पहिलो दुई खेलमै उनले म्यानचेस्टर सिटीका स्ट्राइकर हाल्यान्डले पूरा क्लब सिजनभर गर्ने बराबर ड्रिब्लिङ प्रयास गरेका छन्।
यसैले पनि गोल गर्नमा अब्बल भए पनि खेल शैलीमा भने यी दुई स्टार फरक देखिन्छन्। एमबाप्पे गति, ड्रिब्लिङ र अवसर सिर्जना गर्नमा अगाडि छन्। यस विश्वकपमा उनले पहिलो दुई खेलमा १४ पटक ड्रिब्लिङ प्रयास गरेका छन्, जबकि यसमा हाल्यान्ड निकै पछाडि छन्।
पाएको अवसरलाई गोलमा परिणत गर्ने क्षमतामा हाल्यान्ड अघि छन्। पछिल्ला चार सिजनमा उनले आफ्ना २३.४३ प्रतिशत प्रहारलाई गोलमा परिणत गरेका छन् भने एमबाप्पेको रूपान्तरण दर १८.२४ प्रतिशत रहेको छ।
अगस्ट २०२२ यता एमबाप्पे फ्रान्सका ४४ प्रतिशत गोलमा प्रत्यक्ष संलग्न रहेका छन्। उनले ३३ गोल र १७ असिस्ट गरेका छन्। उता हाल्यान्डले ३९ गोल र चार असिस्ट गर्दै नर्वेका ४३.९ प्रतिशत गोलमा योगदान दिएका छन्।
फ्रान्सलाई यस विश्वकपको प्रमुख उपाधि दाबेदार मानिएको छ। तर, हाल्यान्ड उत्कृष्ट लयमा रहेकाले नर्वेले फ्रान्सलाई सहज चुनौती दिनेछैन। विश्व फुटबलका दुई घातक स्ट्राइकरबीचको यो भिडन्त विश्वकप समूह चरणकै सबैभन्दा आकर्षक खेलमध्ये एक हुने अपेक्षा गर्न सकिन्छ।